११ भदौ, सर्लाही । ‘म नेपालकी छोरी, मधेस आन्दोलनको पहिलो शहीदकी बेटी । मेरो नाम करिश्मा शान्ति । मलाई शान्त मधेस र सुन्दर नेपाल चाहिन्छ । उनले एकै सासमा आफ्नो परिचय र मनको चाहना पोखिन् ।
अब के सोध्नु यी बालिकासँग ? अल्मलिँदै गर्दा उनले सुरिलो भाका हाल्दै गाइन्-डाँफे झैँ नाच्ने, हिमालझैँ हाँस्ने नेपालकी छोरी हुँ म ।
मधेस आन्दोलनका अभियन्ताहरु मधेसीलाई नेपाली मानिएन भन्दै अझै विद्रोही मनस्थितिमै छन् । तर, मधेसका गाउँ र यहाँका बासिन्दा भने अहिले शान्त छन् । मधेस आन्दोलनका बेला अशान्त बनेको सलिमपुरकी हुन् यी नेपालकी छोरी करिश्मा ।
पहिलो मधेस आन्दोलनमा सर्लाहीबाट शहादात पाउने रामनारायण साह जिल्लाका पहिलो शहीद हुन् । उनकै छोरी हुन करिश्मा शान्ति अर्थात करिश्मा साह । उनी पटक-पटक भन्छिन्-म मधेसकी बेटी,नेपालकी छोरी ।
उनका बुबा रामनारायण गाडी चालक थिए । मधेस आन्दोलनका बेला मलंगवामा पुगेका उनी हुलमुलमै प्रहरीको गोली लागेर ढले । रामनारायण ढलेसँगै उनको परिवार पनि बेसहरा बन्यो ।
उनका हजुरबुबाले नातिनी पढाउने सहयोगी हात खोज्दै धेरैतिर हाल फैलाए । आन्दोलनबाट सत्तामा पुगेका मधेसवादी दलका नेताहरुको घरमा पनि धेरै पटक सहयोगको भीख मागे ।
मधेसका लागि रगत बगाएको जेठो छोराको फोटो बोकेर धेरैतिर भौंतारिए पनि कहीँ कतैबाट सहयोग नपाएपछि उनी घुर्कौलीका सुुरेन्द्र लामालाई भेट्न पुगे । लामाले यसअघि असहाय द्वन्द्वपीडित बालवालिकालाई आश्रय दिएको सुनेर करिश्मालाई हजुरबुबाले त्यहाँ लगेका थिए ।
शहीद छोराको नाममा आँशु बगाउनु बाहेक केही नपाएका शिवनारायणले ६ वर्षकी नातिनीलाई सुरेन्द्र लामाको जिम्मा लगाएर गाउँ फर्किए । यसबीचमा दोस्रो मधेस आन्दोलन भयो । तर, पहिलो मधेस आन्दोलनका पहिलो शहिद रामनारायणको गाउँका बासिन्दाले सोधे-अब फेरि अरु करिश्माहरुलाई बेसहारा बनाउन आन्दोलन गर्ने ?
करिश्माका आमा, हजुरबा हजुरआमा र दिदी सलिमपुरमै बस्छन् । करिश्माचाहिँ घुर्कौलीको अनाथ केन्द्रमा बस्छिन् । उनका साथी केही मधेसी छन्, कोही पहाडे, अनि कोही मुस्लिम । पीडा सबैको एउटै छ-द्वन्द्वमा अभिभावक मारिएका ।
किन गाउँमै नपढेको ? यो प्रश्नमा अवोध करिश्माले भनिन्-हजुरबाले पढाउन सक्नुहुन्न, शहीदका बच्चालाई पढाइदेऊ भन्दा कसैले हेरेनन्, यहाँ धेरै जिल्लाका म जस्तै अनाथहरु सँगै बसेर पढ्न पायौं ।
६ वर्षको उमेर चेतना सन्देश बालगृहमा पुगेकी करिश्मा अहिले १३ वर्षकी भइन् । ८ कक्षामा पढ्दै गरेकी करिश्मा दोस्रो मधेस आन्दोलनका बेला सलिमपूर गइन् । उनले आफन्तलाई भनिन्-अब कोही आन्दोलनमा नजानू, मेरो जस्तो अनाथ जीवन अरुले भोग्न नपरोस् ।
किन त्यसो भनेको ? अनलाइनखबरकर्मीको जिज्ञासामा उनले भनिन्-शहीद परिवारलाई हेर्छौं भन्नेहरु मेरो बुबाको लास समेत हेर्न फर्किएनन् । मैलेजस्तो दुःख अरुले नपाउन् भनेर ।
मधेसमा हुने हरेक आन्दोलन र अशान्तिका बेला उनी आफ्ना बुबालाई सम्झिएर रुन्छिन् । उनी भन्छिन्-मधेसमा झगडा नहोस, अब शान्ति होस् । मजस्तो अनाथ हुने आन्दोलन अब नहोस् ।
बुबालाई प्रहरीले किन मारे भन्ने उनलाई थाहा छैन । तर यति मात्र भन्छिन्- हाम्रो मधेसमा धेरै मान्छे मरे । अब यस्तो नहोस, हामी शान्ति चाहान्छौं । पहरिया र मधेशिया भन्ने कुरा कसैले नगरुन् ।
मधेसका बस्तीमा साम्प्रदायिक घृणा फैलाउन खोजिएका बेला करिश्मा एक बिम्ब हुन्, जसले घृणा होइन प्रेम र हिंसा होइन शान्तिका लागि प्रार्थना गरिरहेकी छन् । उनको प्रार्थना मधेसका आन्दोलनकारी र देशका सत्ताधारीले बुझुन् ।
मधेसी नेताले बिर्सेकी शहीदकी छोरी ! (भिडियो सहित)
0 comments:
Post a Comment