७ भदौ, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीले कानून व्यवसायीहरुमाथि पेशामा भन्दा राजनीतिमा बढी केन्द्रीत भएको आरोप लगाएकी छन् ।
प्रधानन्यायाधीश कार्कीले मंगलबार कानुन व्यवसायीहरुकै सामुन्ने पेशामा भन्दा राजनीतिमा बढी ध्यान दिएका कारण त्यसको असर फैसलामा परेको बताइन् ।
सर्वोच्च अदालत बार इकाइले सर्वोच्चका नवनियुक्त न्यायाधीशहरुको सम्मानमा गरेको कार्यक्रममा प्रधानन्यायाधीश कार्कीले विद्धान कानून व्यवसायीहरुले वकालतको क्षेत्रमा कम मिहेनत गर्न थालेकाले उदाहरणीय फैसलाहरु हुन नसकेको बताइन् ।
न्यायाधीशको एक्लो प्रयासले मात्र न्याय सम्पादन हुन नसक्ने भन्दै उनले कानून व्यवसायीहरुलाई अध्ययनमा ध्यान दिन आग्रह गरिन् । उनले न्याय सम्पादनका क्रममा हुने कमजोरी सच्याउन सर्वोच्च तयार रहेको जानकारी दिइन् ।
सर्वोच्च बार इकाइका अध्यक्ष शैलेन्द्रकुमार दाहालले राजनीतिक पार्टीसँग जोडिंदा माथिल्लो पद चाँडै पाइने उदाहरण न्यायाधीश नियुक्तिबाट पुष्टि भइसकेको भन्दै कानून व्यवसायीले राजनीति गर्नुलाई अन्यथा रुपमा लिन नहुने बताए ।
उनले सर्वोच्चले वरिष्ठ अधिवक्ताको उपाधि दिने आधार के हो ? भनेर प्रधानन्यायाधीश कार्कीसँग प्रश्न गरे ।
कार्यक्रममा नेपाल बार एशोसियशनका अध्यक्ष शेरबहादुर केसीले न्याय सम्पादनका क्रममा कुनै किसिमको कमजोरी नगर्न र विवादित नहुन सर्वोच्चका नवनियुक्त न्यायाधीशहरुसँग आग्रह गरेका छन् ।
प्रधानन्यायाधीश कार्की भन्छिन्ः कानुन व्यवसायीले मेहनत कम, राजनीति धेरै गरे
0 comments:
Post a Comment