Subscribe Twitter FaceBook

Pages

Sunday, August 28, 2016

प्रचण्डलाई एमालेको प्रश्नः २१९ दिनमा के के गर्नुहुन्छ ?

Advertisements:

samsad


१२ भदौ, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले संसदमा प्रधानमन्त्री प्रचण्डमाथि प्रश्नै प्रश्न तेर्स्याएको छ । व्यवस्थापिका संसदको बैठकमा विशेष समय लिएर बोल्दै एमाले नेताहरुले प्रचण्डसँग राजनीतिक तथा संवैधानिक प्रश्नहरु तेर्स्याएका हुन् ।


आइतबार विशेष समयमा बोल्दै एमाले उपाध्यक्ष भीम रावलले प्रधानमन्त्रीले भारतीय समकक्षीलाई पठाएको पत्र गोप्य रहन नहुने भन्दै संसद र जनतासँग किन लुकाइयो भनी प्रश्न गरे । रावलले संविधान संशोधनको विषयमा नेपालका प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीलाई पठाइएको भन्दै आपत्ति जनाए ।


रावलले दुईजना उपप्रधानमन्त्रीलाई प्रधानमन्त्रीले विशेष दूत बनाएर भारत र चीन पठाएकोमा समेत प्रश्न गरे । उनले के कति कारणले विशेष दूत पठाउनुपरेको हो भन्दै उपप्रधानमन्त्रीलाई विशेष दूत बनाइनु नै अनुपयुक्त रहेको बताए ।


उपप्रधानमन्त्री आफैं वार्ता गर्ने र सम्झौता गर्ने हैसियत राख्ने ओहोदाका व्यक्ति हुन् भन्दै रावलले राष्ट्रसंंघको परिभाषा र मान्यता विपरीत दूत पठाइएको बताए ।


‘संकटपूर्ण अवस्थामा द्वन्द्वरत पक्षबीच भयावह अवस्थामा कुनै निकाय नहुँदा विशेष दूत पठाइन्छ’ रावलले भने ‘अहिले के त्यस्तो उत्पात मच्चियो र विशेष दूत पठाइयो ?’


एमालेकै अर्का नेता तथा पूर्वकानुनमन्त्री अग्नि खरेलले प्रचण्डसामु थप प्रश्नहरु वर्षाए । उनले प्रचण्डसँग अब प्रधानमन्त्रीका रुपमा २ सय १९ दिन बाँकी रहेको भन्दै यसबीचमा के-के गर्नुहुन्छ भनी प्रश्न गरे ।


खरेलले भने- तपाईलाई म्यादी प्रधानमन्त्री नै त भन्दिँन तर तपाईहरुबीच भएको कपाली तमसुकअनुसार अब तपाईसँग २१९ दिनमात्र बाँकी छन्, यसबीचमा तपाईले चुनाव गराउने, संविधान कार्यन्वयन गर्ने गुन्जायस मैले देखिरहेको छैन ।


खरेलका थप प्रश्न यस्ता थिए- यसबीचमा चुनाव गर्नुहुन्छ कि गर्नुहुन्न ? स्थानीय निकायको चुनाव गर्ने कि स्थानीय तहको ? तपाईसहित भएर बनाएको संविधान कार्यन्वयनको तालिका र चुनावको मिति खारेज गर्नुहुन्छ कि त्यही मितिमा गराउनुहुन्छ ? संविधानलाई सर्वस्वीकार्य बनाउने भन्दै हिँड्नुभएको छ । कतिजनाले मानेपछि त्यो सर्वस्वीकार्य हुने हो ?’


एमाले नेताहरुले संविधान सर्वस्वीकार्य बनाउने नाममा कुनै पनि चुनाव नगराई संविधान असफल बनाउने खेलमा सरकार र सत्तारुढ गठबन्धन लागेको आरोप समेत लगाएका छन् ।


निधीको जवाफः पत्रमा गोप्य कुरा छैन


यसैबीच एमालेको आरोप र प्रश्नको जवाफ दिँदै सरकारका उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधीले संविधान कार्यान्वयन र चुनाव गराउनकै लागि आफूहरु लागेको बताए ।


निधीले प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीलाई सामान्य राजनीतिक पत्र पठाएको दावी गरे । निधीले एमालेले भने जस्तो कुनै गोप्य कुरा पत्रमा नरहेको प्रष्टीकरण आइतबार सदनलाई दिएका छन् ।


मन्त्री निधीले भने- नयाँ सरकार गठनपछिको राजनीतिक परिस्थितिको विश्लेषण गरेर विशेष दूत पठाइएको जानकारी पत्रमा छ ।


दुवै देशलाई कुटनीतिक रुपमा उच्च प्राथमिकता दिइएको र समान सम्बन्ध राख्न चाहेको कुरा पत्रमा रहेको निधीले बताए । उनले नयाँ सरकार गठनपछि संविधान कार्यान्वयन र निर्वाचन गराउने विषय मोदीलाई पठाइएको पत्रमा रहेको बताए ।



प्रचण्डलाई एमालेको प्रश्नः २१९ दिनमा के के गर्नुहुन्छ ?
Advertisements:

0 comments:

Post a Comment

Recent Posts