Subscribe Twitter FaceBook

Pages

Monday, August 22, 2016

रक्सीमा प्रतिवन्धको प्रभावः बिहारमा शान्ति, नेपालमा होहल्ला !

Advertisements:

Rautahat-jadyaha


५ भदौ, डिघलबैंक (भारत) । भारतको बिहार राज्यमा मदिरा प्रतिवन्धित भएपछि त्यहाँ आपराधिक क्रियाकलाप घटेको छ भने नेपाली सीमावर्ती क्षेत्रमा सुरक्षाको चुनौति थपिएको छ ।


कडा कानुनका कारण बिहारबासी भारतीयले मदिरा सेवन गर्न छाडेपछि आपराधिक क्रियाकलाप घटेको हो । तर, जँड्याहाहरु लुकीछिपी नेपाली सीमावर्ती क्षेत्रमा मदिरा सेवन गर्न आउने क्रम बढ्दा नेपालमा सुरक्षा जटिलता थपिएको छ ।


नेपालमा सीमावर्ती बजारका साथै राजमार्ग आसपासमा समेत रक्सी जाँडको संस्कृति फस्टाउँदै गएको छ । साथै नेपालका तराईका विभिन्न जिल्लामा तास खेल्ने, गुण्डागर्दी गर्ने, चन्दा आतंक एवं सामाजिक अपराधका घटनाहरु बढ्न थालेका छन् ।


भारतीयहरु नेपाली बजारमा आएर मदिरा सेवन गरी होहल्ला गर्ने गरेको सीमावर्ती क्षेत्रका स्थानीय बताउँछन् । झापाको लसुनाका स्थानीय राम शाह भन्छन्, ‘बिहारमा मदिरा प्रतिबन्ध भएपछि यहाँ भारतीयहरु आउने क्रम बढेको छ । प्रायः साँझको समयमा उनीहरु आउँछन् ।’


बिहारबाट मदिरा सेवन गर्न आउने भारतीयहरु विशेष गरी पोके अर्थात् स्थानीय भाषामा ‘दुधिया’ मदिरा सेवन गर्छन्, जसको बजार मूल्य ५० रुपैयाँ हो ।


‘लुकिछिपी मदिरा सेवन गर्न आउने बिहारीहरु छाप्रे होटलहरुमा जान रुचाउँछन्’, साह भन्छन्, ‘मदिरा पिएर फेरि ती व्यक्तिहरु लुकेर बिहार छिर्छन् ।’


भारको दिघलबैंक एसएसबी चेकपोष्टका प्रमुख एसएसबी उपेन्द्र कुमारका अनुसार बिहारमा मदिरा प्रतिबन्धित गरिएपछि अहिलेसम्म सो नाकाबाट ३ जना भारतीयहरु मापसेमा पक्राउ परेका छन् ।


‘लुकेर मदिरा सेवन गर्न जान्छन् भन्ने जानकारी त आउँछ’, उपेन्द्र भन्छन्, ‘तर, हामीले सबैलाई भेटेका छैनौँ ।’ शाखा गल्लीहरु प्रयोग गरेर मदिरा सेवनकर्ताहरु प्रहरीबाट जोगिँदै भाग्ने गरेको उनी स्वीकार्छन् ।


बोर्डर आउटपोष्ट कुमरखोद झापाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक केदारजङ्ग थापाले छिटपुट रुपमा भारतीयहरु मदिरा सेवन गर्न नेपाल आउने गरेको बताए । खुलासीमा क्षेत्र भएका कारण उनीहरुलाई नेपाली बजारमा मदिरा सेवन गर्न आउन सहज भएको थापाको भनाइ छ ।


‘दुई साताअघि एकजना बिहारका व्यक्ति नेपालबाट मदिरा सेवन गरेर गएछन्’, प्रत्यक्षदर्शी वीरेन्द्र यादवले भने, ‘ती बिहारीलाई एसएसबीले भेट्यो र नराम्ररी चुट्यो ।’


यसैबीच, झापाका प्रहरी प्रवक्ता डीएसपी हरिप्रसाद शर्मा भारतीयहरु नेपाली बजारमा मदिरा सेवन गर्न आउँदा भैझगडा भएको कुरा अहिलेसम्म जिल्ला प्रहरी कार्यालयमा जानकारी नआएको बताए ।


‘अहिलेसम्म हामीलाई त्यस्तो घटनाको जानकारी त आएको छैन’, शर्मा भन्छन्, ‘तर, हामी यो विषयप्रति सम्वेदनशील छौँ ।’


check-post

नेपाल-भारत सीमा क्षेत्र



बिहारमा सन् २०१६ अप्रिल १ तारिखदेखि मदिरा प्रतिवन्धित गरिएको हो ।


नितिशकुमार मुख्यमन्त्री रहेको बिहारको विधानमण्डलमा बिहार संशोधन विधेयक २०१६ पारित भएपछि यो कानुन लागू भएको छ ।


बिहारमा अहिले मदिरा उत्पादन, बिक्री एवं वितरण अथवा सेवन गरे एक लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म जरिवाना हुन्छ । साथै, १० वर्षसम्म कैद सजायँको व्यवस्था समेत छ ।


बिहारमा अहिले यो कानुन निक्कै कडाइका साथ लागू भएको छ । जसका कारण बिहार अहिले शान्त बनेको किसनगञ्ज दिघलबैंकका पुराना उद्योगी पप्पु चौधरी बताउँछन् ।


‘यो कानुन लागू भएयता पुरुषहरु पनि घरमा चाँडै आउने गरेका छन्’, भारतीय नागरिक चौधरीले भने, ‘पहिले धेरै घर झगडाहरु मिलाउनुपर्थ्यो, तर, मदिरा प्रतिबन्धित भएपछि यो समस्या छैन ।’


मदिरा सेवनका कारण बिहार राज्यमा अपराध बढेको र नागरिकले घरपरिवारलाई बेवास्ता गरेको भन्दै त्यहाँ मदिराको बिक्री वितरणमा प्रतिबन्ध लगाइएको हो ।


मदिरा प्रतिबन्धित भएपछि बिहारको किसनगञ्जसँग सीमा जोडिएका नेपाली बजार लसुना र झापा बजारमा भने भारतीय ग्राहकलाई लक्षित गरी होटलहरु खुल्ने क्रम एकाएक बढेको छ ।


हाल लसुना र झापा बजारमा करिब दुई दर्जन होटलहरु खुलिसकेका छन् । अझै खुल्ने क्रममा पनि छन् । ती होटलहरु भारतीयलाई लक्षित गरेर खुलेका हुन् । यसले बिहारी समाज सुधारतर्फ उन्मुख भइरहेको र नेपाली समाज विकृतितर्फ उन्मुख भएको स्पष्ट संकेत गर्दछ ।


नेपालमा सवारी चालकहरुलाई ‘ब्रेथलाइजर’ प्रयोग गरेर गरिने ‘मापसे’ जाँचजस्तै बिहारमा भारतीय सुरक्षा बलका अधिकारीले प्रवेशद्वारमा आफ्ना जनताले मदिरा सेवन गरेका छन् कि छैनन् भन्ने बुझ्न प्रयोग गर्ने गर्छन् ।


raksi-pratibanda


 



रक्सीमा प्रतिवन्धको प्रभावः बिहारमा शान्ति, नेपालमा होहल्ला !
Advertisements:

0 comments:

Post a Comment

Recent Posts