Subscribe Twitter FaceBook

Pages

Thursday, August 18, 2016

कमलको रोजगारी यात्रा: सिटमा बसेर गए, सुतेर फर्किए

Advertisements:

Kamal-Thapa


२ भदौ, क्वाललाम्पुर । बर्दिया पशुपतिनगरबाट रोजगारीका लागि मलेसिया आएका २२ वर्षीय कमल थापा सडक दुर्घटनामा परेपछि निकै दुःख पाए । तर, उनी यो पीडामा एक्लै थिएनन् । सरसहयोग गर्न साथीभाइ एक ढिक्का भएका थिए ।


नेपाली दूतावास नजिकै रहेको एक होटलमा कमललाई राखिएको थियो । त्यहाँ साथीभाइ ओहोरदोहोर गरिरहेका देखिन्थे । ‘ऐया, विस्तारै समाउनु न,’ आँखामा टिलपिल आँसु पारेर घाउको दुखाइ सहँदै कमल भन्दै थिए ।


‘अलिअलि त सहनुपर्छ । नत्र कसरी फर्किने घर ?’ निरक थापा उनलाई सम्झाउँदै थिए ।


त्यति नै बेला निरकको मोबाइल बज्यो । उताबाट बोल्ने शंकर थापालाई उनले पालो दिन आउन आग्रह गरे । भन्दै थिए – ‘आज ड्युटी गर्न गइनँ भने त बोसले मलाई निकालिदिन्छ ।’


शंकर भोलिपल्ट मात्र आइपुगे । उनले नेपालमा सबैलाई खबर गरेको र पैसाको जोरजाम भइरहेको भनेर बेलिबिस्तार सुनाए । कमललाई नेपाल फर्काउन सबै साथी मिलेर लागेका थिए उनीहरू ।


कमलको काममा यता-उता हिँडिरहँदा साथीभाइले आफ्नो काम गरिरहेको ठाउँमा मूल्य चुकाइरहेका थिए । रातिको समयमा सेक्युरिटीको ड्युटी गरिरहेका भरत थापालाई कम्पनीले जलान आम्पाङमा दिउँसोको ड्युटीमा सारिदियो । यस्तै, सेरेम्वानमा सेक्युरिटी गरिरहेका निरकलाई कम्पनीले जोहोरवारु सारिदिने धम्की दियो ।


हरबखत टेलिफोनमा झुन्डिएको देखेपछि शंकर थापालाई कम्पनी मालिकले बोलाएरै सोधे – आजकल बिजनेस गर्न थालियो कि क्या हो ? हो भने कम्पनी छाडे हुन्छ ।


बिरामीको फाइलहरू बोकेर यताउता कुदिरहेको देखेपछि कटक थापालाई कम्पनीले एजेण्ट बनेको आशंका गर्‍यो ।


यस बीचमा भरत, निरक, शंकर, कटकसँगै थुपै्रले कम्पनीको कचकच निरन्तर सहिरहे ।


ड्युटी सबैको सेक्युरिटी गार्डको भए पनि फरक-फरक ठाउँ र कम्पनीमा थियो । तर, सबैको मिसन कमललाई कसरी नेपाल पठाउने भन्ने थियो ।


मलेसियामा रहेका साथीभाइ र आफन्तले कमललाई सहयोग गर्न कामको बाँडफाँट गरेका थिए । कसैले कमललाई कुर्ने, कसैले पैसाको जोहो गर्ने र कसैले आवश्यक कागजपत्र मिलाउने । सबैको निरन्तरको खटाइले उनी अन्ततः मंगलबार नेपाल पुगे ।


काममा खुसी, दाममा सन्तुष्टि पाइने भन्दै कमल बीस वर्षको उमेरमा १६ महिनाअघि मलेसिया आएका थिए ।


रेफ्रिजेरेटर फिटिङको काम भनेर पठाइए पनि उनलाई प्लाष्टिक कम्पनीमा काममा लगाइयो । कमाएको पैसा जति खाने खर्चमै ठिक्क हुने भएपछि त्यो कम्पनी आठ महिनामै छाडिदिए ।


त्यसपछि इजोक भन्ने ठाउँमा सेक्युरिटी गार्डको काम गर्न थाले । काम त अवैधानिक रूपमा सुरु गरे । तर, त्यसको कमाइले उनलाई केही राहत भयो । पहिले महिनामा पाँच सय रिङ्गेट पनि बचाउन नसकेका कमलले एक हजार रिङ्गेटसम्म जोगाए । तर, अवैध रूपमा काम गरेकाले मनमा डर थियो । कतै प्रहरीको फन्दामा परिने हो कि वा दुर्घटनामा परेर अलपत्र परिने हो कि भन्ने चिन्ताले सताइरह्यो उनलाई ।


नभन्दै कमल अगस्ट १ तारिखमा बिहानै साइकल चढेर ड्युटी जाने क्रममा कारको ठक्करबाट दुर्घटनामा परे । ठक्कर दिने कारको मालिकले नै एम्बुलेन्स र प्रहरीमा खबर गरिदियो । अस्पतालमा जाँच गर्दा दाहिने खुट्टा भाँचिएको देखियो । ढाडमा गम्भीर चोट लागेर केही चर्किएको र केही भाँचिएको रहेछ ।


बल्लतल्ल खुट्टाको प्लास्टर भयोे । तर, गम्भीर असर परेको ढाडको उपचारमा भने अस्पतालले केही गरेन । कम्पनीले पनि वास्ता गरेन । बरु भोलिपल्टै अस्पतालबाट निकालेर होस्टलमा लगेर राखिदियो । कडा निर्देशन पनि दियो – ‘मेरो कम्पनीमा काम गरेको भनेर कसैलाई नभन्नू । भनिस् भने राम्रो हुने छैन !


कमल दुर्घटनामा परेको हल्ला फेसबुकभरि फैलियो । एनआरएन मलेसियामा पनि आइपुग्यो । खबर गैरआवासीय नेपाली संघका केन्द्रीय कोषाध्यक्ष हिक्मत थापासम्म पनि पुग्यो, जो कमलका अंकल पर्दा रहेछन् । थापा मार्फत नै प्रवासी नेपाली समन्वय समिति काठमाडौंसम्म खबर पुग्यो । कमलको अवस्था र विवशतालाई नजिकबाट नबुझेकाहरूले आफ्नै किसिमले अनुमान गरे । कमलले त्यसको प्रतिवाद गर्ने अवस्थै थिएन ।


Kamal-Thapa-1


पाँचौं दिनमा भने फेसबुक चलाउन सक्ने भए र त्यहीँ लेखिदिए – ‘धन्न बाँचिएछ !’ छैटौं दिनबाट त दिनभरि नै च्याटमा गफिन सक्ने भए ।


दुर्घटनामा कमलको टाउको, मुख र हातमा सामान्य चोट लागे पनि शरीरको पछाडिको भाग चल्न नसक्ने अवस्थाको थियो । आफन्तहरुले जसरी राखिदिन्छन्, त्यसरी सुत्नु बाहेक कुनै उपाय नै थिएन । मलेसियामा रहेका आफन्तहरु उनका सुसारे बनिरहेका थिए ।


नेपाली दूतावास मलेसियाले यात्रा अनुमतिपत्र, मलेसियाको अध्यागमनको कागजी प्रक्रियामा ठूलो गुन लगायो । पैसाको जोहो भइसके पनि डाक्टरले ‘कमल प्लेनमा जान सक्छन्’ भनेर लेखिदिनुपर्ने थियो । अवैधानिक कामदार भएकाले समस्या थियो । तर, मनकारी डाक्टर भेटिएपछि त्यो काम फत्ते भयो ।


अव पालो एयरलाइन्सको थियो । नेपाल एयरलाइन्सबाटै नेपाल फर्काउने निधोमा पुगे आफन्तहरु । तर, नौ वटा सिट बुक गर्नुपर्ने भयो । किनकि उनी हृविल चियरमा समेत बस्न सक्दैनथे । एयरलाइन्सको पनि कुरा मिल्यो ।


सवै कुरा नियालिरहेका कमलले फेरि फेसबुकमा साथीहरुसँग च्याट गरे- ‘सबै मिल्यो, अब नेपाल फकर्ँदै छु ।’


तर, कमललाई एयरपोर्टसम्म कसरी लैजाने भन्ने समस्या थपियो । एम्बुलेन्स बाहेक अरु साधनबाट उनलाई लैजान सम्भव थिएन । एयरपोर्ट मैदानसम्म पुग्न पहिले नै एम्बुलेन्सको नम्वरदेखि अन्य कानुनी कागजात मिलाउनुपर्ने रहेछ । आफन्तहरुले हरेश खाएनन्, मिलाएरै छाडे ।


मंगलबार बिहानको फ्लाइट थियो । निरकले कमलको दाह्री काटिदिए । नयाँ कपडा लगाइदिए । शंकरले बस्दा-खाँदा होटलमा लागेको हिसाबकिताब चुक्ता गरे । कटकले कागजपत्र ठिक्क पारे भने भरतले अन्य चाँजोपाँजो मिलाए ।


सबै मिलेर बिहान करिब चार बजे कमललाई एम्बुलेन्समा राखेर एयरपोर्ट पुर्‍याए । एयरपोर्टमा बिदाइ गर्दै सबैले आडभरोसा दिए – ‘जाऊ, नेपालमा गएर उपचार गराऊ । केही पर्‍यो भने साथ दिने हामी छौं ।’


यसको जवाफमा कमलले केही बोल्नै सकेनन् । बरर आँसु खसाल्दै बिदाइको हात हल्लाए ।


मंगलबारदेखि नै कमलको काठमाडौंको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । काठमाडौ पुगे लगत्तै आफन्तहरूलाई फोन गरे – ‘जाँदा बसेर गएको थिएँ, फर्किँदा सुतेर फर्किएँ । दाजुहरुको गुन म कहिल्यै बिर्सने छुइनँ ।’



कमलको रोजगारी यात्रा: सिटमा बसेर गए, सुतेर फर्किए
Advertisements:

0 comments:

Post a Comment

Recent Posts