Subscribe Twitter FaceBook

Pages

Friday, August 12, 2016

जब जनकविको घर जल्यो….

Advertisements:

Durgalal Shrerstha 810


राजधानीको व्यस्त शहर ठमेलको नरसिंहचोक नजिकै चिबहालमा कवि दूर्गालाल श्रेष्ठ सपरिवार घर पखाल्न र पुछपाछ गर्नमा व्यस्त थिए । ध्वाँसोका कारण सबैका कर्मशील हात कालै देखिन्थे । ‘आगोको आँखामा आगै संसार’ भनेजस्तै दृश्य थियो त्यहाँ ।


नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको घरमा आइतबार आगलागी भयो । हामी बुधबार त्यहाँ पुग्दा धुवाँको गन्ध अझै आलै थियो ।


पाँचतले घरको भुइँतलादेखि नै तीखो गन्ध र अस्तव्यस्त अवस्थाले आगोको विनाशलीला बताइरहेको थियो, कसैलाई सोधिरहन आवश्यकै थिएन ।


दुर्गालालले आगलागीबाट के-कति क्षति भयो भन्ने हरहिसाब अहिलेसम्म केलाउन भ्याएका छैनन् । वर्षौंदेखिको उनको साहित्यिक संग्रहालयमा आगोले मिनेटभरमै बितण्डा मच्चायो । संग्रहालयमा उनले जीवनभर पाएका सम्मानपत्र, प्रकाशित कृतिहरू, चित्र र फोटो, धातुका मूर्तिहरू लगायत थिए । कागजी सामग्री जम्मै नष्ट भए । धातुका मूर्तिलगायत एकाध सामान जोगिए ।


आगोको भयानक रीस देखे उनले । मिनेटभरमै सिंगो घर जलाउने !


उनी यो घडीमा के गरुँ र कसो गरुँ भन्ने अशान्त मनस्थितिमा छन् । न मन हल्का छ, न त आँसु नै र्झन सकेको छ ।


‘फूलको आँखामा फूलै संसार’ गीतका सर्जकले भक्कानिएको मनको हालत बताए – ‘मेरो यति नाश भो भनेर अझसम्म पनि ठम्याउन सकेको छुइनँ । अहिले त मूच्छिर्तजस्तै छु । सायद सबै बुझिसकेपछि भक्कानो छोडेर मैले रुने बेला आउला ।’


उनलाई अझै पनि आगलागी हुँदैछ कि जस्तो लागिरहेको छ । छोराहरूको व्यवसाय चौपट भएकोमा पीर उत्तिकै छ ।


आगोले हार्‍यो


टोल, छरछिमेक र साथीसँगातीहरूको माया, आत्मीयता, सहानुभूतिको अगाडि आगोले हार्‍यो । साथीहरूको त्यो आत्मीय प्रेम नै मेरो सर्वस्व हो, जुन कहिल्यै नष्ट हुँदैन



घरको भुइँतलामा छोराहरू सुमन र सुरजले दुई दशकदेखि कपडा, जुत्ता, ब्यागलगायत हस्तकलाको पसल चलाउँदै आएका थिए । त्यही पसलबाट आगलागी सुरु भएको थियो । बिजुली सट भएर लागेको आगोबाट पसलका सामान स्वाहा भए ।


पसलको बिमा नगरिएकाले के-कसो गर्ने भन्ने छोराहरूको चिन्ता छ । त्योभन्दा पनि ठूलो चिन्ता छ, बुबाको संग्रहालय जलेकोमा । व्यवसाय त फेरि लागीमेली गर्दा फर्किएला, जलेका मान-सम्मानपत्र र साहित्यिक मूल्यका सामानहरु अब दुरुस्त आउने छैनन् !


त्यो दिन आगलागी हुँदा दुर्गालालले एकैसाथ दुःख र सुखको अनुभूति सँगाले ।


Durgalal Shrerstha (4)


उनको घर नयाँ र पुरानो एकैसाथ जोडिएको छ । अगाडिपट्टकिो ४५ वर्ष पुरानो र पछाडिको अलिक नयाँ । बिहान साढे नौ बजेतिर उनी पुरानो घरको सुत्ने कोठाबाट तातोपानी लिन नयाँ घरतिर बढ्दै थिए । बीचको कौशीमा डम्म धुवाँ भरिएको देखे । धुवाँले निसास्सिएर निल्लाजस्तो भयो । बीचमा रहेको भेन्टिलेसनबाट हावाले आगोको लप्का ह्वारह्वारी माथितिर फैलाइरहेको थियो ।


आगो लाग्यो भन्ने थाहा भएपछि हत्तपत्त निस्किन खोजे पनि धुवाँको कुइरीमण्डलमा मेसो भएन । जसोतसो छोरा र अन्य सहयोगीले आमा-बुबालाई निकालेर छिमेकको घरमा पुर्‍याए । घरका महिला र केटाकेटीहरु ज्यान जोगाएर कोही दायाँतिरको छिमेकमा थिए, कोही बायाँतिर । उनी सम्झिन्छन् – ‘अरुले सघाइदिएकाले धन्न उम्किन सक्यौं हामी । नत्र त यहीँ भष्म हुन्थ्यौं ।’


छरछिमेकका मान्छे र दमकलको झन्डै डेढ घन्टाको प्रयासमा आगो साम्य भयो । दनदनी सल्किएको आगोले पूरै घर खरानी होला भन्ने सोचिरहँदा सबै हितैषीको सरसहयोगले आगो निभेपछि यसलाई धन्य मानिरहेका छन् दुर्गालाल ।

कोही आगो निभाउन मरिमेटेका थिए, कोही सरसामानको सुरक्षाका निम्ति पहरेदार भएर खटिएका थिए । कतिसम्म भने, ठिमी र पाटनदेखिका मान्छे आएर आगो निभाउन सघाइरहेका थिए ।


‘विपत्ति भनेको योभन्दा बढी देख्न पाएको थिइनँ जिन्दगीमा । तर, विपत्ति भोगिरहेकै क्षणमा मैले ठूलो सुखको अनुभूति गर्न पाएँ’ दुःखभित्रबाट सुखानुभूति खोज्ने प्रयास गर्दै कवि हृदय खोलेर दूर्गालालले अनलाइनखबरसँग भने- ‘टोल, छरछिमेक र साथीसँगातीहरूको माया, आत्मीयता, सहानुभूतिको अगाडि आगोले हार्‍यो । साथीहरूको त्यो आत्मीय प्रेम नै मेरो सर्वस्व हो, जुन कहिल्यै नष्ट हुँदैन ।’


यसरी साथीहरूबाट पाएको आत्मीयता आफ्नै आचरणका कारण कमाएको सम्पत्ति लाग्छ उनलाई । सबैसँग आत्मीय किसिमले घुलमिल हुन्छन् ।


घर जले पनि मर्मत र रङरोगन गरेर बस्न मिल्ने अवस्थाको छ । छिटै आगो निभाएकाले पुरानो घरतिर आगो फैलिन पाएन ।


फूलको आँखामा फूलै संसार देख्ने दूर्गालाल आशावादी जीवनदर्शन बोकेका कवि हुन् । त्यसैले त उनले आफ्नो घर जलिरहँदा पनि इष्टमित्रको सहयोग र सहानुभूतिलाई आगोले चहर्‍याएको घाउ बिसेक गराउने मल्हम सम्झेका छन् ।

संग्रहालयमा राखिएका पुस्तकहरू त आगोले सखाप नै भए । त्यो कोठासँगैको छोरीको कोठामा रहेको कम्प्युटरमा उनका आधा दर्जनभन्दा बढी अप्रकाशित कृतिको पाण्डुलिपि थियो ।


त्यसलाई पनि आगोले खायो कि भन्ने दुर्गालालको ठूलो डर थियो । त्यो नष्ट नहोस् भनेर केही दिनयता भगवान् पुकारिरहेका थिए । तर, कम्प्युटरको हार्डडिस्क दुरुस्तै रहेको थाहा पाएपछि उनले यसलाई ‘बचेको सम्पत्ति’ मानेका छन् ।


बचेको सम्पत्तिमध्ये उनको आफ्नै मूर्ति पनि छ । जुन पाटनका कलाकार राजेश अवालेको निर्देशनमा उनैका शिष्यहरूले वसन्तपुरमा बनाएका थिए ।


पाँच सय गीतका सर्जक


Durgalal Shrerstha (8)७-८ वर्ष भयो, दुर्गालालका हात काम्छन् । उनले लेख्न छाडेका छन् । बोलेको कुरा छोरी सुचिताले कम्प्युटरमा टाइप गर्ने र जगेर्ना गर्दै आएकी छिन् । यदाकदा आफैंले कलम समाउन सक्दा त्यसलाई झटपट सदुपयोग गर्दै छोटा सिर्जना कोर्छन् ।


संगीतकार न्ह्यू बज्राचार्यसँगै पछिल्ला वर्षमा निकै नजिक छन् उनी । न्ह्यू नयाँ-नयाँ धुन लिएर आउँछन्, त्यो सुनेर तुरुन्ता तुरुन्तै उनी गीत फुराउँछन् । त्यसलाई न्ह्यूले अक्षरमा टिप्छन् । ‘अहिलेसम्म नेपाल र नेपाली भाषाका गरी न्ह्यूले मेरा पाँच सयवटा गीत लगेको होला । त्यसमध्ये दुई सय वटामा संगीत भरिसकेका छन्,’ मुखले फुराएर दिएका गीतबारे हिसाब निकाल्छन् उनी ।


यी दुई गीतकार/संगीतकारको जोडी कतिसम्म जमेको छ भने, ‘फूलको आँखामा फूलै संसार’ गीत हिट भएयता ट्युनिङमै गीत जन्माइरहेका छन् । ‘फूलको आँखा’मा पनि धुन सुनेर जम्मा ५/७ मिनेटभित्र लेखेका थिए उनले । भन्छन् – ‘चर्चित गीत पनि थोरै समयमा तयार हुन्छ, कुनै गीत भने धेरै समय लाग्दा पनि अर्थ न बर्थको हुन्छ ।’

तर, उनलाई आफू आशु कवि हुँ भन्ने लाग्दैन । उनको विचारमा छिटो लेख्न सक्नु कुनै गुण होइन । सिर्जना समयसापेक्ष हुनु महत्वपूर्ण कुरा हो ।


घरको हैन, अधिकारको कुरा


बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालले घरमै आएर दुर्गालाललाई सान्त्वना दिए । कविको घर जल्दा दुःख लागेको भन्दै सरकारको तर्फबाट सहयोग गर्ने आश्वासन समेत दिए । तर, दुर्गालालले व्यक्तिगत कुरा गरेनन् । वर्षौंदेखि आफूले उठाउँदै आएको जातीय र भाषिक समानताको कुरा झिके ।


राज्य व्यवस्थाका कारण जातीय र भाषिक असमानता कायम रहेको भन्नेमा उनको असन्तुष्टि रहेछ । आफूलाई जातीय मुक्ति आन्दोलनको सांस्कृतिक सिपाही भन्दै उनले प्रधानमन्त्रीसँग सदियौंदेखिको जातीय असमानता हटाउनुपर्‍यो भनेर आग्रह गरे ।


क्रान्तिकारी र अध्यात्मिक गीत/कविता लेख्दै आएका उनले प्रशस्त बाल गीत र कविता पनि लेखेका छन् । लेखनमा किसान र शोषित-पीडितका कुरा लेखेका छन् । आमजनताकै कथा-व्यथा लेखेकोले उनलाई नेपाल भाषा परिषद्ले ‘जनकवि’ उपाधिबाट सम्मान गरेको थियो ।


दुर्गालाल नेपाली र नेपाल भाषा दुवैमा साहित्य सिर्जना गर्छन् । तर, उनी आफूलाई मातृभाषाका लेखक मान्छन् । पछिल्लो समय भने नेपाली भाषामै बढ्ता सिर्जना गरिरहेका छन् ।


यस्तो किन त ?


आफ्नो द्रव्यमोह देखेर थकथक मान्दै भने – ‘घर सखाप हुन लागेको बेलामा आगोले त्यो पैसा केही भयो कि भन्ने पो पीर थियो मलाई । ए बाबा, त्यस्तो पनि कहीँ पीर हुन्छ ?



‘राज्य व्यवस्थाले विभेद गरेकोले नै मातृभाषाको लेखनमा सुस्तता आएको हो । बहुभाषिक र बहुजातीय देशमा राज्य संकीर्ण नभएर सबै भाषा-संस्कृतिलाई ठाउँ दिए पो समानता हुनेथ्यो,’ उनी सुनाउँछन् ।


पछिल्लो समय नेपाल भाषाको लेखाइ कम गरे पनि उनका तीन दर्जनभन्दा बढी पुस्तक नेपाल भाषामै प्रकाशित छन् । नेपालीमा भने बाल साहित्य र अन्य गरी एक दर्जनभन्दा बढी कृति निस्किएका छन् ।


भाषिक-सांस्कृतिक आन्दोलनमा ०२२ सालदेखि नै लागेका उनी यो आन्दोलन अहिले सुक्खा जस्तो देखिए पनि भित्रभित्रै बगिरहेको बताउँछन् । सांस्कृतिक आन्दोलनका क्रममा एक समय उनी साहित्यिक र सांस्कृतिक कार्यक्रमको टोलीमा काठमाडौंका विभिन्न ठाउँका साथै बिराटनगर, हेटौंडा, वीरगञ्जसम्म पुगेका थिए ।


त्यही भाषिक आन्दोलनका कारण नेपाल भाषामा धेरै स्रष्टाहरू जन्मिएको उनको ठहर छ । । ‘नेपाल भाषामा कलम चलाउनेहरू पहिले जस्तो धेरै देख्दिनँ, तर लेखिरहेकाहरूमध्ये गुणात्मक लेख्नेहरू बढ्दै छन्,’ उनी खुसी मान्छन् ।


प्रौढहरूको लागि पनि गीत र कविता लेखे पनि उनी बालबालिकाका प्रिय लेखक हुन् । बालसाहित्यकार हुनुमा कन्या मन्दिर हाइस्कुलमा साढे दुई दशक पढाएको अनुभव निकै उपयोगी भएको छ । त्यसमा स्कुलका हेडसर केदारनाथ न्यौपानेको गुन बिर्सिनसक्नुको मान्छन् । ब्राह्मण भए पनि उनी कस्ता भने, मातृभाषामा लेख्नु जस्तो ठूलो कुरा अरु केही हुँदैन भनेर दुर्गालाललाई प्रेरणा दिन्थे ।


हेडसरकै माया पाएर उनले आईए पास नभए पनि कवि भएकैले ससम्मान पढाउने जागिर पाए । आफूसरहका शिक्षकभन्दा बढी तलब थाप्थे । त्यसो हुनुको कारण एक दिन थाहा पाए, स्कुलको हाजिरी खातामा उनको नामको पछाडि ‘कवि’ भन्ने फुर्को पनि जोडिएको रहेछ । कवि भएकोले उनले अतिरिक्त माया र सुविधा पाएका थिए ।

उनले शैक्षिक मापदण्डले नदिए पनि क्याम्पसहरूमा समेत पढाउने अवसर पाए ।


अहिले बसेको घर पनि उनै हेडसर केदारनाथको अग्रसरताले बनेको रहेछ । न्हैकन्तला टोलमा भएको उनको घर साँघुरो र होचो देखेपछि ०२६ सालमा स्कुलमै सरसहयोग जुटाउने काम भयो । आठ हजार रुपैयाँ पाए दुर्गालालले । त्यो रकमले चिबहालमा जग्गा किनेर घर बनाए । ०२८ सालमा बिते गुरु केदारनाथ ।


हाल ८१ वर्षमा हिँडिरहेका दुर्गालालले आफ्ना प्रेरकलाई पुरानै दिनहरूबाट सम्झिएँ – ‘घर बनेपछि मैले एक दिन झ्यालबाट बिहानपख घाम झुल्किँदा सूर्यमै हेडसरलाई देखेँ । उनीप्रति मेरो श्रद्धाभाव त्यतिसम्म रहेछ ।’


चित्त शुद्ध होस्


घर जल्दा अति प्रिय के कुरा नष्ट भयो ? उनले यत्रतत्र छरिएका कुरा हेर्न र बुझ्नै बाँकी छ ।


यतिबेला भने उनले आफ्नै दरिद्र चित्तलाई दयनीय देखिरहेका छन् । भएछ के भने, आगलागी भएको दिन ज्यान जोगाएर छिमेकीको घरमा बसिरहँदा उनको दिमागमा अरु केही कुरा आएन । एउटा गीत लेखेवापत कसैले दिएको सात हजार रुपैयाँ कमिजको खल्तीमा कोठाभित्र राखेका थिए, एक्कासी त्यही सम्झिए ।


Durgalal Shrerstha (7)


घरै नाश भएर संसारै गयो भनेर दुःख मनाउनुपर्ने बेलामा लोभी मन पैसामा टाँस्सिएको थियो ।


आफ्नो द्रव्यमोह देखेर थकथक मान्दै भने – ‘घर सखाप हुन लागेको बेलामा आगोले त्यो पैसा केही भयो कि भन्ने पो पीर थियो मलाई । ए बाबा, त्यस्तो पनि कहीँ पीर हुन्छ ?’


आफूलाई आरोपित गर्दै मानवीय लोभी-पापी मनको पत्र पल्टाए उनले । त्यति बेला उनलाई आफू अझसम्म शुद्ध हुन पाएको छैन भन्ने लागेछ ।


अघिदेखि बुद्धको तस्वीरमुनि गफिइरहेका छन् दुर्गालाल । बुद्धकै आशिष थापेर चित्त शुद्धिको कामना गरिरहेका छन् । यही ठाउँमा बसेर कुनैबेला उनले गीत फुराएकै थिए –


‘चित्त शुद्ध होस् मेरो बोली बुद्ध होस्

मेरो पैंतालाले किरै नमरोस्’



जब जनकविको घर जल्यो….
Advertisements:

0 comments:

Post a Comment

Recent Posts