दस वर्षे द्वन्द्वकालमा गाउँगाउँमा माओवादी विद्रोही र राज्यको सेनाले एकले अर्कोलाई तारो बनाउँदै थिए । त्यसको घानमा थुप्रै निहत्था नागरिक परिरहेका थिए । यो सबै काठमाडौंका कलाकार रविन्द्र श्रेष्ठले नजिकबाट नियाल्दै आएका थिए ।
०६२/६३ को आन्दोलनपछि राजनीतिक दलहरूको अगुवाइमा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने काम थालियो । तर, आपसी शंका-उपशंका बाँकी नै थिए ।
त्यतिबेला उनी साँखुस्थित सुषमा कोइराला मेमोरियल अस्पतालमा ल्याब असिस्टेन्टका रुपमा काम गर्थे । बुबाको व्यापार चौपट भएपछि घर खर्च धान्नुपर्ने जिम्मेवारी उनकै काँधमा आइपरेको थियो । सीटीईभिटीबाट तालिम लिएर त्यो काम गर्न थालेका थिए ।
ल्याबमा बिरामीको रगत जाँच्न नमुना संकलन गर्ने क्रममा दिनहुँ रगतसँग खेल्नुपथ्र्यो । अस्पतालमा कहिले घाइते अवस्थाका माओवादी लडाकु त कहिले सेना आइपुग्थे । युद्धका रक्तिम किस्सा तिनका मुखबाट सुनेर रविन्द्रलाई भाउन्न हुन्थ्यो ।
उनीभित्रको कलाकार कति संवेदनशील भने, जुनसुकै रङ देखे पनि आँखा अगाडि रगत नै आउँथ्यो । त्यसबेलासम्म उनी थाङ्का (पौभा) कलामा देवीदेवता र फूलको चित्र बनाउँदै आएका थिए । देशमा रगतको छिटा परेका बेला फूल र भगवान्को चित्र किन बनाउने ? उनले त्यसमा अर्थ भेटेनन् ।
उनले रगतलाई नै रङको रुपमा प्रयोग गरेर चित्र बनाउने सोचे । त्यस क्रममा अरुका साथै आफ्नै रगतबाट चित्र रङ्ग्याउन सुरु गरे । एउटा कलाकार अस्पतालको ल्याबमा काम गरिरहेकाले यो संयोग जुरेको थियो ।
चित्रमा आखिर रगत नै किन त ?
‘द्वन्द्वको चेपुवामा परेर त्यत्रा मान्छे मरेका थिए, असहाय, विधवा र टुहुरा भएका थिए,’ ३८ वर्षीय कलाकारले ब्लड पेन्टिङ गर्नुको कारण खुलाए, ‘त्यति बेलाको समय चित्रमा उतार्न रगतभन्दा उपल्लो तहको माध्यम नै देखिनँ ।’
रविन्द्रले ब्लड पेन्टिङको सिरिज नै बनाए, १०/१५ वटा । तीमध्ये एउटा चित्र विशेष छ ।
अस्पतालको ल्याबमा सबैथरी बिरामी आउने भइहाले । त्यसमा पनि सेना र माओवादीका मान्छेहरूसँग उनको घुलमिल बढ्दै गयो । तिनमा कतिपय त आफ्नै साथी थिए । ल्याबमा अलिकति सैनिक जवानको रगत लिए, अलिकति माओवादी लडाकुको ।
त्यो बेग्लाबेग्लै रगतको नमुनाबाट क्यानभासमा दुई शान्तिकामी आँखा बनाए । पृष्ठभूमिमा उनले आफ्नै रगत पोते । रगत त सबैको रातै हुन्छ, चित्रमा कुन आँखा सैनिक जवानको र कुन चाहिँ माओवादी छापामारको हो भनेर छुट्याउन सकिन्न । ‘त्यही नै हो समायोजन । त्यसबाट एउटा आँखा हटाउने बित्तिकै सन्तुलन बिगि्रन्छ,’ उनले अर्थ खुलाए ।
चित्रको शीर्षक उनले ‘समायोजन’ राखेका छन् । यसबाट उनले मान्छेहरू विभिन्न नाममा आपसमा जतिसुकै लडे पनि आखिरमा नमिली सुखै छैन भन्ने भाव दर्शाएका छन् । राजनीतिक दलहरू कुर्सी र दलगत भागबण्डाका लागि सबथोक बिर्सेर निरन्तर जुधिरहँदा उनी आफ्नो चित्रको दुई आँखामा सन्तुलन र हार्दिकता खोज्छन् ।
यो चित्र विभिन्न सामूहिक कला प्रदर्शनीमा राखे उनले । त्यहाँ मोहन वैद्यदेखि अहिलेका उपप्रधानमन्त्री कृष्णबहादुर महरासम्म अवलोकन गर्न आए । एकैछिन रविन्द्रको कलाकारी खुबीको तारिफ गरे अनि बाटो लागे ।
देशलाई द्वन्द्वले थिलथिलो बनाएको कालखण्ड उतारिएको चित्रबारे कलाक्षेत्र, राजनीतिक र सामाजिक कित्ता कतैबाट चासो नदिँदा उनको मन कुँढिएको छ । संवेदनशील समय बोल्ने कलालाई राष्ट्रिय सम्पत्ति मानेर संरक्षण गरिनुपर्नेमा सबै बेखबर जस्तै बने । भन्छन् – ‘केही समय हेर्छु । यस्तै उपेक्षा भइरहे यो चित्र विदेशको कुनै संग्रहालयलाई दिन्छु ।’
त्यसअघि यो चित्र व्यवस्थापिका संसद्मा लगेर देखाउने इच्छा छ उनको । ता कि जनप्रतिनिधिले हेरुन् र बुझून् समायोजन र मेलमिलापको अर्थ ।
आठ वर्षअघि रगतको चित्र बनाइरहँदा रविन्द्रले पछि मात्र पो थाहा पाए, यो त मानव अधिकारको इस्यु बन्न सक्छ । तर, त्यो त समयको माग थियो र उनको उमेरको आवेग पनि । अहिले त्यस्तो चित्र बनाउने सोच्न समेत सक्दैनन् उनी । बरु फाइन आर्ट पढ्न थालेदेखि उनको मुख्य चिनारी बनेको छ, लाइन आर्टिस्ट ।
ब्रह्माण्डमा रेखैरेखा
काठमाडौं विश्वविद्यालयको फाइन आर्टका विद्यार्थी हुन् रविन्द्र । कलेजको ६ महिने कला प्रोजेक्टमा दुई वर्षअघि उनले लाइन आर्ट (रेखा कला) रोजेका थिए । त्यस क्रममा ‘द लाइन- सोल अफ युनिभर्स’ शीर्षकमा २० जना कलाकारसँग सहकार्य गरे । नेपाली कला फाँटमा उनले गरेको यो काम फरक हो ।
उनले हरेक कलाकारलाई ६ फिट लम्बाइ र तीन फिट चौडाइको छुट्टाछुट्टै क्यानभासमा तीन इन्चको रेखा छुट्याएर त्यसभित्र चित्र कोर्न दिए । यो ‘कोल्याबोरेसन प्रोजेक्ट’मा शशि शाह, किरण मानन्धर, मनुजबाबु मिश्र, वीरेन्द्रप्रताप सिंह, प्रेममान चित्रकार, एससी सुमन, संगी श्रेष्ठदेखि ६ वर्षीया विज्ञता सत्यालसम्मका कलाकारले आफ्नो कला देखाए । विविध शैली र पृष्ठभूमिका यी कलाकारले ६ महिना लगाएर सिर्जना तयार पारे ।
लाइनभित्र उनी आफैंले मात्र चित्र बनाएको भए विविधता आउँदैनथ्यो । तर, फरक विधामा जमेका कलाकारसँग सहकार्य गर्दा तिनको संवेदना, कला परिचय, विधासापेक्ष प्रभाव फरक-फरक रुपमा प्रकट भएको छ । लाइन आर्टमा मूर्त, अमूर्त चित्रका साथै मिथिला कलादेखि नेवारी कला थाङ्कासम्म अटाएका छन् ।
कसरी सुरु भयो त लाइन आर्टको मोह ?
६ वर्षअघि कलेजको सुरुवाती दिनमा रविन्द्रले चित्र कोरिरहँदा गुरुले यो मिलेन, त्यो मिलेन भन्दै कतै लाइन मेटिदिन्थे भने कतै आकार आएन भन्दै गोलो घेरा बनाइदिन्थे । कहिले लाइन हुन्छ भन्थे, कहिले हुँदैन भन्थे । लाइनको कुरा भइरहँदा संसारमा कुनै पनि वस्तुको शक्ति भनेको त्यसको सेप वा आकार हो भन्ने उनको दिमागमा बस्यो । ‘त्यसले मलाई स्ट्राइक गरेपछि लाइन आर्टको मोह छोड्नै सकिनँ,’ उनले भने- ‘ब्रह्माण्डभरि नै कतै देखिने र कतै नदेखिने रेखा हुन्छन् भन्ने हिसाबले मेरा हरेकजसो प्रोजेक्टहरूमा लाइन आयो ।’
उनले गरेको कोल्याबोरेसन आर्टमा पनि नदेखिने रेखाको विशेष भूमिका छ । २० जना कलाकारलाई चित्र बनाउन दिँदा उनले क्यानभासमा पेन्सिलले रेखा कोरेर दिएका थिए । चित्र बनिसक्दा त्यो रेखा मेटिएर कलाकारको सिर्जना मात्र दृश्यमा थियो । त्यहाँ रविन्द्रको भूमिका पर्दापछाडिको जस्तो देखिए पनि उनको रेखाकै परिधिमा कलाकारले सिर्जना पस्किएकाले त्यसमा सहकार्य झल्किन्छ । यसैले हरेक चित्रमा चित्र कोर्ने कलाकारसँगै रविन्द्रको पनि हस्ताक्षर छ ।
लाइन आर्टमा सहकार्य गरेका अग्रज कलाकारहरूले लाइनलाई कोरिया जाने र्फम भर्न विवश युवाको लाइनदेखि सभ्यता र सम्प्रदायको लाइन भन्दै पूरै विश्व लाइनको जञ्जालमा जेलिएको बृहत् अर्थमा व्याख्या गरेका छन् ।
पछिल्लो समय काठमाडौं उपत्यकामा भूकम्पबाट भत्किएका विभिन्न मठमन्दिर चहारे उनले । केही मन्दिर पूरै ढलेका र चर्केका थिए । कतिपयका टुँडालहरू उछिट्टएिका र उप्किएका थिए । यत्रतत्र छरिएका र नाशिन लागेका काष्ठकला र वास्तुकलाको फोटो खिचेर ल्याए ।
ती कलात्मक बुट्टाहरूलाई आफ्नो लाइन आर्टअन्तर्गत नै राखेर रेखाचित्र कोरे । मिहीन बुट्टा उत्रने गरी क्यानभास वारपार सजाए । त्यो प्रोजेक्टलाई उनले नाम दिए – ‘भूकम्पको रेखा’ । यसले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको प्रतियोगितामा यसै वर्ष नेशनल स्पेशल अवार्ड पनि जित्यो ।
उनी सबै कुरामा लाइन नै देख्छन् । चर्केको भित्ता, घाम उदाउने भिरालो डाँडा, कफी पिउँदै गरेको कप, सहरका असरल्ल तार, रुखका लहरा ।
सामान्यतया लाइन एउटा विन्दुबाट सुरु भई अर्को बिन्दुसम्म पुगेपछि अस्तित्वमा आउँछ । तर, यी लाइन आर्टिस्टको हेराइ अलि सूक्ष्म छ । उनी विन्दुमा पनि लाइन देख्छन् । ‘एउटा प्वाइन्टलाई जुम इन गरेर हेर्यो भने त्यहाँ पनि त गोलो घेरा हुन्छ,’ उनले भने ।
कोल्याबोरेसन आर्टको अवधारणालाई अब अन्तर्राष्ट्रिय स्तरमा पनि लैजाने उनको सोच छ । नेपाली कलाकारसँग सहकार्य गरे जस्तै विभिन्न एक सय वटा देशका कलाकारसँग मिलेर काम गर्ने प्रक्रिया अघि बढाइसकेका छन् । त्यसबाट ‘कनेक्सन फर पिस’ को सन्देश दिने उद्देश्य छ ।
अन्तर्राष्ट्रिय स्तरमा जाने उनको अर्को प्रोजेक्ट छ, फिंगरपि्रन्ट आर्ट । अर्थात् उनले क्यानभासमा विभिन्न देशका मान्छेको औंठाछाप लिएर विश्व कुनै न कुनै माध्यमले जोडिएको छ भनेर शान्ति-सद्भावको सन्देश फैलाउने सोच बनाएका छन् ।
भूकम्पमा जोडिएका मनहरू
औंठाछाप कुनै पनि व्यक्तिको परिचय हो । व्यक्तिपिच्छे त्यो फरक-फरक हुन्छ । तर, जाति, भाषा, भूगोल र विचारले मान्छे फरक भए पनि उनीहरू कुनै न कुनै माध्यमबाट जोडिएका हुन्छन् । एउटै समाज र विश्वमा बसेपछि एउटै कुराबाट आम रुपमा प्रभावित हुन्छन् ।
यही सोचले उनले फिंगरप्रिन्टको कन्सेप्चुअल आर्ट थाले । यसमा पनि लाइन आर्ट गाँसिएर आउँछ । गत वर्ष भूकम्पपछि उद्धारमा खटिएका सुरक्षाकर्मी, दाता र घाइतेहरूमार्फत उनले आपसी कनेक्सनलाई देखाएका छन् ।
भूकम्पमा जोडिएका तिनै ६४ जना जनाको औंठाछाप स-साना क्यानभासमा लिए । त्यसमा घरघर गएर भिक्षा मागेको चामल सहयोग गर्ने साधुदेखि भूकम्पपीडितका लागि लाखौं रुपैयाँ सहयोग गर्ने दाताहरूको समेत औंठाछाप छ ।
हरेक औंठाछापको बीच भागमा उनले एउटा रेखा तानेका छन् । त्यसको अर्थ रहेछ, उनीहरू कुनै न कुनै माध्यमबाट जोडिएका छन् । ‘गत वर्षको भूकम्पमा यो कुरा प्रस्टै देखियो, मान्छेहरू बाहिरी रुपमा बेग्लै देखिए पनि आत्मीय रुपमा जोडिएका हुन्छन्,’ उनी आफ्नो कलाको व्याख्या गर्छन् ।
औंठाछाप भएको स-साना क्यानभासहरू एकै ठाउँमा राखेर रविन्द्रले नेपाल आर्ट काउन्सिलमा ‘जोडिएका मनहरू’ शीर्षकको प्रतिस्थापन कला प्रस्तुत गरेका थिए । यही कलाबाट ललितकला विशेष पुरस्कार पनि पाए उनले ।
तीन वर्षअघि उनले बनाएको ‘भर्सेज’ शीर्षकको प्रतिस्थापन कलाबाट पनि सोही विशेष पुरस्कार पाएका थिए । एन्डि्रउ ग्राहम डिक्सनको सम्पादनमा निस्किएको कलासम्बन्धी विश्वप्रसिद्ध किताब ‘आर्ट’ मा नेपाली चित्रकलाबारे कतै उल्लेख नभएको असन्तुष्टि स्वरुप उनले त्यो कला बनाएका थिए ।
नेपाली कला अपेक्षा गरेअनुसार बाहिर नचिनिनुमा उनी आन्तरिक कमजोरी पनि देख्छन् । ‘हामीले त्यो ठाउँसम्म आफ्नो कला स्थापित गर्न नसक्नुमा हाम्रै समस्या छ,’ उनी औंल्याउँछन् – ‘अन्तर्राष्ट्रिय वृत्तमा हाम्रो कलाबारे बोल्ने कला समीक्षक पनि छैनन् ।’ यस्तै, कलाकार र कला पारखीको बीचमा पुलको काम आर्ट क्युरेटरको पनि अभाव छ ।
उनले ‘भर्सेज’ कलामा ‘आर्ट’ किताबमाथि चक्कु गाडिएर त्यसभित्र नेपाली कला प्रवेश गर्न खोजिरहेको देखाएका छन् । यो कलाले भारतमा आयोजित ‘कोची बिनाले २०१४’ मा अनिश कपुर लगायत चर्चित कलाकारहरूको कलासँगै प्रदर्शनी भएर राम्रो चर्चा पाएको थियो ।
बाँच्ने आधार कम्पोजिसन आर्ट
रविन्द्रले ०५२ सालताका प्रेममान चित्रकारसँग थाङ्का कला सिकेका थिए । विभिन्न देवीदेवता र फूलको बुट्टा मिहीन रुपमा उतार्न डुबेर लाग्नुपर्थ्यो ।
तर, धेरै समय लगाएर धैर्यपूर्वक मसिना बुट्टा सजाउनुपर्ने र मन पनि नरमाउने देखेपछि उनी चञ्चल भइरहेका थिए । नयाँ प्रयोग गर्न रुचाइराख्ने स्वभावले केही बाटो खोजिरहेको थियो । त्यसमाथि आफूले मिहिनेतपूर्वक बनाएको एउटा थाङ्का कला बेचेपछि त उनलाई आफ्नै घर रित्तो लाग्यो । घर नगई धुलिखेल, चाँगु र कपनतिर डाँडा-पाखामै भौंतारिन थाले ।
एक दिन भक्तपुरको चाँगु डाँडामा टहल्दै गर्दा बल्ल तत्वबोध भयो । खुसीले उनी रोए । ‘म त कहिल्यै देख्दै नदेखेको भगवान्को कला गुमाउनुपर्दा व्यर्थै चित्त दुखाएर बसेको रैछु,’ उनले थाङ्का कलाप्रति विरक्ति हुनुको कारण बताए – ‘त्यसपछि त थाङ्का चटक्कै छाडिदिएँ ।’
विशुद्ध थाङ्का छाडे पनि उनको लागि गुजाराको माध्यम बनेको ‘कम्पोजिसन आर्ट’ मा थाङ्काको देन पनि ठूलो छ । उनको कम्पोजिसन आर्टमा थाङ्का कला, नेपाली आर्किटेक्ट र वास्तुकला एकमुष्ठ पाइन्छ । उनी भन्छन् – ‘विदेशीहरु हामीकहाँ मोडर्न आर्ट हेर्न नभई परम्परागत कला हेर्न आउँछन् । यही देखेर मैले एउटै पेन्टिङमा तीनै कुरा संयोजन गरेर काम गर्न थालेँ ।’
यही काम बढी बिक्री हुन्छ उनको । यस्ता चित्र अमेरिका, चीन, बेलायत, अस्टे्रलिया, जर्मनी, भारतसम्म पुगेका छन् । नेपालभित्र इन्भेष्टमेन्ट बैंकका पृथ्वीबहादुर पाँडे, मनीषा कोइराला लगायतले पनि उनको कला किनेका छन् । एउटा चित्र ३५ हजारदेखि ७५ हजार रुपैयाँसम्ममा बिक्री गर्छन् ।
कन्सेप्चुअल आर्टमा भिन्न-भिन्न प्रयोग गर्न उनलाई कम्पोजिसन आर्टको कमाइले बल दिन्छ । अर्कातिर, कम्पोजिसन आर्टको कौशल र गहिरो साधना अरु काम गर्ने जग बनिदिएको छ । यसमा मिहीन बुट्टा बनाउँदा उनको रेखाचित्रको विशेष खुबी देखिने भएकोले अरु काममा हत्तपत्त कसैले कुरा काट्ने आँट गर्न सक्दैनन् ।
रविन्द्रले ब्लड पेन्टिङ, कोल्याबोरेसन आर्ट, फिंगर पि्रन्ट र कम्पोजिसन आर्ट गरी चारवटा काममा हात हालेका छन् । मुख्य काम यही भन्ने नहुँदा आफूलाई कुन रुपमा चिनाउने भनेर समस्या देख्छन् । तर, पछिल्लो समय लाइन आर्टलाई नै विविध सन्दर्भमा गाँसेर अघि बढाइरहेका छन् ।
समसामयिक राजनीतिक चेत, मानवता र करुणा भावले उनी कलामा बग्न रुचाउँछन् । त्यस क्रममा आम मान्छेको दिमागमा आउने कुराभन्दा कलाकारले फरक तरिकाले सोचेर आफ्नो काम पस्किनुपर्छ भन्ने मान्यता राख्छन् ।
कलाकारको रुपमा सबै घटनाबारे चासो राखिरहेका हुन्छन् उनी । देशको अवस्था र राजनीतिबारे नजर लगाइरहेका हुन्छन् । ‘कलाको क्षेत्रमा राजनीति हावी हुनु भएन, तर राजनीतिमा कलाले चासो राख्नुपर्छ,’ उनी आफ्नो कामलाई जनता, देश र विश्वसँग जोड्छन् – ‘मेरो पेन्टिङ र कामले राजनीतिमा हिस्सा लेओस् भन्ने सोच्छु । कतिपय मेरा पेन्टिङले राजनीति गरिरहेका छन् ।’
संसदमा ‘ब्लड पेन्टिङ’ देखाउन चाहने कलाकार
0 comments:
Post a Comment