Subscribe Twitter FaceBook

Pages

Thursday, August 18, 2016

‘अहिलेका अधिकांश गजल मेकअप गरे जस्ता छन्’

Advertisements:

Gyanuwalker (2)०३५ सालदेखि गजल लेखनमा क्रियाशील ज्ञानुवाकर पौडेल आफूलाई ‘गजलको माली’ भन्छन् ।


मोतीराम भट्टले नेपालमा भित्र्याएपछि लामो समय सुस्ताएको नेपाली गजललाई पुनर्जागरण गरेको श्रेय उनलाई दिइन्छ । ०३५ सालमा अभिव्यक्ति पत्रिकाको असार अंक (पूर्णाङ्क ४४) मा पहिलो गजल छापिएयता उनी गजल पुनर्जागरण गर्ने अभियानमा जुटिरहे । त्यति बेला उनलाई विजय वजिमय, तीर्थ श्रेष्ठ, ध्रुव मधिकर्मी लगायत सर्जकले साथ दिएका थिए ।


हालसम्म पौडेलका चारवटा गजल संग्रह प्रकाशन भइसकेका छन् । तर, उनी संख्यामा नभई सर्जकले साहित्यमा गरेको योगदान र सिर्जनाको शक्तिबारे कुरा गर्नुपर्ने बताउँछन् । उनीसँग नेपाली गजल विकासक्रम र वर्तमान अवस्थामा केन्दि्रत रहेर गरिएको कुराकानीः


साहित्यको अन्य विधाको माझमा गजलले साहित्यकारहरूबाटै हेलाहोंचा खेप्दै आएको छ, कस्तो लाग्छ ? 


त्यो स्थितिमा पछिल्लो समय सुधार आएको छ । पहिले-पहिले निम्न स्तर र सस्तो भावुकतामा आधारित गजल लेखिन्थ्यो । अहिले आएर गजलकारहरूमा चेतना बढेको पाइन्छ । कविहरूको भिडमा टिक्ने हो भने देशको भूगोल, इतिहास, संस्कृति, रीतिरिवाज, अन्तर्राष्ट्रिय घटनाक्रम नबुझीकन राम्रो गजल लेख्न नसकिँदो रहेछ भनेर उनीहरूले बुझ्न थालेका छन् । यी सबै कुरामा आफू अनुभवसम्पन्न नभईकन गजलमा नयाँ कुरा दिन सकिँदैन भन्ने बोध भयो ।


पहिले त जस्तो गजल लेखे पनि हुन्थ्यो, गजलको पुनरुत्थानको मात्र समस्या थियो । अहिले त राम्रो लेखेर मात्र नपुग्ने भयो, उत्कृष्ट नलेखी भिडमा नदेखिने अवस्था छ । पाठकहरूको पनि चेतना बढेको छ । पाठकले गजलको किताब किन्न पैसा खर्च गरेपछि हामीले बौद्धिक पोषण पाउँछौं कि पाउँदैनौं भनेर सोच्न थालेका छन् । बौद्धिक तिर्खा मेट्ने अपेक्षाले सिर्जनालाई पारख गर्नेहरू बढेका छन् । उपन्यास, कथा लगायत अरु विधाहरूमा पनि अहिले पाठकहरूले यस्तै सोच्न थालेका छन् ।


लेख्नेहरूमा त चेतना बढ्यो, तर मूलधारका लेखकहरूले गजललाई आलोकाँचो वस्तु नै ठानिरहेको देखिन्छ नि !


भूपी शेरचनलाई पनि पहिले भरतराज पन्तले ‘उः रबर कवि आयो’ भनेर होच्याउँथे । एक समय कृष्णभूषण बलको कविता मधुपर्क पत्रिकामा छापिँदै छापिएन । तर, अहिले उनीहरू कुन स्थानमा छन् भनेर हामी बुझ्न सक्छौं । सुरुमा त जसलाई पनि हेला हुन्छ ।


पहिले हामीले गजलको विशेषांक निकाल्नुपर्‍यो भने राम्रो छान्नलाई पाउँदै पाउँथेन । तरकारी धेरै बनाउन सागमा रायो, पालुंगो सबथोक मिसाए जस्तो नराम्रो गजल पनि मिसाउनुपर्ने अवस्था थियो । अहिले चाहिँ राम्रा गजल धेरै लेखिएकाले कसलाई राख्ने, कसलाई मिल्काउने भनेर धर्मसंकट हुन्छ । ६० जनाको गजल संग्रह निकाल्नुपर्‍यो भने सय-डेढ जना हाम्रो नजरमा आइसके । तीमध्ये कसलाई पन्छाउने ? यो अवस्था आउनु गजलको विकास हो कि होइन ?


गजललाई समालोचक गोविन्दराज भट्टराईले वनमारा झार भनेका हुन् । तर, पछि उनले सामाखुसी साहित्य समाजको कार्यक्रममा गजलहरू सुनेपछि आफ्नो भनाइ गलत रहेछ भने



हामीकहाँ गजललाई कसैले ‘आयातीत विधा’ भन्छन्, कसैले ‘वनमारा झार’ नै भने । गजल खासमा के हो ?


यस्तो जथाभावी भन्नु मनोवैज्ञानिक सन्त्रास हो । गजललाई समालोचक गोविन्दराज भट्टराईले वनमारा झार भनेका हुन् । तर, पछि उनले सामाखुसी साहित्य समाजको कार्यक्रममा गजलहरू सुनेपछि आफ्नो भनाइ गलत रहेछ भने । उनले ‘गजल यति राम्रो पनि हुँदो रहेछ, मलाई त थाहै थिएन’ भन्ने कुरा गरे । समालोचकहरूसम्म राम्रा गजल नपुग्दा पनि समस्या भएको हो ।


नेपाली गजलले कछुवाको चालमा भए पनि क्रमिक रूपमा फड्को मारिरहेको छ । रुपक वनबासी, बाबु त्रिपाठी, निरज भट्टराई, राबतहरूले गजलमा कविताको स्वाद दिएर युवा पुस्तामा बेग्लै लहर ल्याए । गजलमा मुख्य दुई पक्ष छन् ।


एक त काफिया, रदिफ लगायत आधारभूत संरचना पालना गर्नुपर्ने, अर्कोतिर पोयटिक फ्लेवर (काव्यात्मक सुवास) पनि दिनुपर्ने । यहाँ त संरचनालाई मात्र ध्यान दिने, काव्यात्मक सुवास नदिने सर्जकहरूका कारण गजल बिगि्रएको र आलोचित भएको हो । तर, राम्रो लेख्नेहरू तमाम आलोचनालाई पचाएर अघि बढिरहेका छन् ।


संरचना र काव्यिक स्वादका साथै गजलमा गेयात्मक पक्ष पनि हुन्छ, तपाईँले चाहिँ त्यसमा सुरुदेखि नै ध्यान नदिएको भन्ने आरोप छ नि ?


दुर्घटनामा कसैको एउटा खुट्टा गुम्यो भने त्यसलाई मान्छे नभन्ने ? उसको व्यक्तित्वमा अरु सबल पक्ष छन् भने तिनको पो पारख गर्नुपर्छ । सिर्जनालाई पनि यसरी नै हेर्नुपर्छ ।


उसो भए तपाईंले जानी-जानी नै नियम उल्लंघन गुर्नभएको हो ?


जानी-बुझी नै गरेको हुँ । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा अर्काको घर भत्काएर बाटो फराकिलो पारे । दुई-चार महिना खाल्टाखुल्टी भए पनि अहिले सडक चिल्ला बन्दै छन् । गजलको स्थिति पनि त्यही हो । त्यो बेलामा मैले नियम नमिचिदिएको भए अहिले नेपाली गजल यति फराकिलो र विकसित हुने थिएन ।


हाम्रो अनुभूतिबाट जन्मिने कविता र गजलमा तात्विक भिन्नता छैन । अलग छ त यी दुईको स्वरूप र ढाँचामा । गजलमा कविता बोल्नैपर्छ भन्ने मान्यता राखेर अघि बढ्नुपर्छ । लय, गायन भनेको त गजलमा शृंगारका कुरा हुन्



तर, अब त्यस्तो हुनु हुँदैन । अब हामीले गजलमा बहरको ख्याल राख्नुपर्छ । लय र गेयात्मकतामा ध्यान दिनुपर्छ । यसका साथै साहित्यिक मूल्य पनि हामीले दिनुपर्छ ।


पुनर्जागरण कालदेखि अहिलेसम्म आउँदा नेपाली गजलमा परिवर्तन भएको कुरा के हो ?


साहित्यिक मूल्य नै हो । समुद्रबाट निस्किने छाल हेर्दा स्वरूपमा समुद्रभन्दा फरक देखिन्छ, तर त्यसलाई समुद्रबाट अलग राखेर हेर्न मिल्दैन । यस्तै, हाम्रो अनुभूतिबाट जन्मिने कविता र गजलमा तात्विक भिन्नता छैन । अलग छ त यी दुईको स्वरूप र ढाँचामा । गजलमा कविता बोल्नैपर्छ भन्ने मान्यता राखेर अघि बढ्नुपर्छ । लय, गायन भनेको त गजलमा शृंगारका कुरा हुन् ।


हामी कसरी राम्रो देखिने भनेर साजसज्जामा ध्यान दिन्छौं । तर, अनुभव र ज्ञानले पाकेको व्यक्तित्व जसरी धपक्क बल्छ, त्यो मेकअपले बन्दैन । मान्छेमा व्यक्तित्व जस्तै गजलमा कवितात्मक सुवास हुनु जरुरी छ । अहिलेका अधिकांश गजल मेकअप गरेजस्ता छन् । गजलमा हुनुपर्ने कविताको ओज शून्य भएकाले नै अहिलेका अधिकांश गजलले आलोचना सहनुपरेको हो ।


सुरुवातमा तपाईंहरुले गजलमा पाइला चाल्दा परिचय बनाउन कत्तिको सकस भयो ?


हामीलाई निकै गाह्रो थियो । त्यति बेला म, मनु ब्राजाकी लगायत हामी दुई-चार जना थियौं गजल लेख्नेहरू । हामीलाई कवि गोष्ठीमा बोलाएर पनि गजल पढ्न दिन्थेनन् । अपमानित महसुस हुन्थ्यो । त्यो अवस्थाबाट अहिले आइपुग्दा स्थिति निकै फेरिएको छ ।


तर, आफ्नो सिर्जनामा काव्यिक मिठास दिन सक्ने गजलकारहरू थोरै छन् । रुपक वनबासीहरूसँगै अमला अधिकारी, हुकुम धड्कन, अनुपमा करारा, शिशिर भट्टराई लगायतले गर्दा हामीले पनि नसोचेको रूपमा गजल खँदिलो बनेको छ । विडम्बना के छ भने, ती थोरैलाई बुझ्ने पनि थोरै मात्र छन् ।


गजल लेखनमा युवा पुस्ता यति धेरै ओइरिनुको कारण के होला ? गजल लेख्न यति सजिलो छ ?


साथीभाइबाट वाहवाही पाउन रहर र सोखले लेख्नेहरू ८० प्रतिशत छन् । गजलमा म पनि नयाँपन र योगदान दिन सक्छु भनेर समर्पित भावले लाग्नेहरू सीमित छन् । स्तरको कुरा गर्ने हो भने हामीकहाँ पाँच प्रतिशत गजल उत्कृष्ट छन्, १५ प्रतिशत राम्रा छन् र बाँकी औंसत कोटिका छन् । मूल्यांकन गर्नेहरूले तिनै औंसत स्तरका रचनालाई हेरेर गजलबारे धारणा बनाउने र विरोध गर्ने गर्छन् ।


तिनीहरूको विरोधलाई म नाजायज मान्दिनँ । कुनै पनि वैज्ञानिक उपलब्धि गलत मान्छेको हातमा पर्‍यो भने अभिषाप भएको उदाहरण संसारमा धेरै छ । अर्कोतिर, जंगलमा च्याउ खोज्न जाने मान्छेले कुन विषालु र कुन खानयोग्य हो भनेर छ्ट्याउन नसक्नु त्यो च्याउको दोष होइन । बजारमा जाँदा हामीले असली र नक्कली सामान छुट्याउन कोसिस गरे जस्तै गजलमा पनि त्यो सिस्टम लागू हुनुपर्‍यो ।


नयाँ पुस्ताको थामिनसक्नुको बाढीले गजललाई के गर्ला ?


बाढी आउनु स्वाभाविकै हो । बाढी सङ्लिन समय लाग्छ । त्यही भएर म बाहिरतिर कसैको कुनै पनि गजलको बारेमा बोल्दा तौलिएर मात्र बोल्छु । किनभने मैले पोहोर साल राम्रो ठानेको एउटा गजलकारले चोरेर लेख्दो रहेछ भन्ने कुरा पछि थाहा भयो ।


प्रतिभा कस्तो निस्किन्छ भनेर हामीले निश्चित समय पर्खनुपर्छ । एसएलसी पास हुन त हामी दस वर्ष पर्खन्छौं भने गजलकार बन्न निश्चित अवधि पर्खनुपर्‍यो नि !


हामी २९/३० सालदेखि लेख्न थालेका मान्छेको त बल्ल मूल्यांकन हुन थालेको छ भने युवा पुस्ताले साधना गर्दै जानुपर्छ । नयाँ पुस्तामा चर्चा र नामको लागि व्यग्रता बढी छ । यसले साहित्यलाई कहाँ लैजाने हो भन्ने चिन्ता पनि छ । हाम्रो पालामा साधन थिएन, साधना थियो । अहिले साधन छ, साधना छैन ।


गजलबाट लेखनको सुरुवात गर्दै अरु विधामा फाल हानेका लेखकहरूले कुनै जमानामा आफू गजल लेख्थेँ भन्न समेत लाज मानेको देखिन्छ । यस्तो किन होला ?


उसले अहिले गजल बुझ्यो होला । सुरुवाती गजल कमजोरै थियो नि ! सुरुमा लहडमा लेख्यो । मलाई पनि त्यस्तो हुन्छ । यो ठाउँमा यस्तो लेख्नुपर्ने, म चिप्लिएछु भन्ने बोध हुन्छ । त्यो बेलामा प्रतिस्पर्धा भएकाले छापिन हतार भयो । तर, मैले त्यति बेला समयमा आफ्नो सिर्जना ननिकालेको भए त्यसको अर्थ हुन्थेन । त्यो बेलाको रचना जस्तोसुकै भए पनि त्यसको ऐतिहासिक मूल्य र जग सधैं सुरक्षित रहन्छ ।


प्रारम्भिक रचना सबैको कमजोर नै हुने भएकाले त्यसमा हीनताबोध गर्नु पर्दैन । अब अहिले राम्रो लेखे भइहाल्यो नि !


धेरै गायक र संगीतकारहरूलाई गजलबारे थाहै छैन । कुन गीत हो, कुन गजल हो भन्ने नबुझी गाउने गरिएको छ । त्यसले पनि समस्या भएको छ



नेपाली गजलहरू सोचेजति संगीतमा फैलिन नसक्नुको कारण के होला ?


केही गजल संगीतबद्ध भएर बेलाबेला आइरहेका छन् । प्रमोद खरेल, जगदीश समाल, शिव परियारले गजल गाएरै  आफ्नो परिचय स्थापित गरे । तर, धेरै गायक र संगीतकारहरूलाई गजलबारे थाहै छैन । कुन गीत हो, कुन गजल हो भन्ने नबुझी गाउने गरिएको छ । त्यसले पनि समस्या भएको छ ।


भारतमा एउटा गजल रेकर्ड गर्न ५/६ महिना लगाउँछन् । त्यसबीचमा गजलकार, संगीतकार र गायक पटकपटक भेटेर कसरी गजललाई राम्रो बनाउने भनेर छलफल गर्छन् । हामीकहाँ त झटपट काम सक्ने परिपाटी छ । लेखेको गजल लगेपछि एकैचोटि सीडी विमोचनमा पो निम्तो आउँछ ।


अहिले धेरै लेखक आख्यानबाट थप परिचय बनाउन कस्सिरहँदा तपाईँलाई गजलसँगै अरु विधामा हात हालूँ भन्ने लाग्दैन ?


मलाई त्यो रहर छैन । गजलले मलाई नाम र ख्याति दिएको छ । म अहिले जुन स्थानमा छु, त्यो ठाउँमा पुग्नको लागि मान्छेहरू एकेडेमीमा जानुपर्‍यो । साझा प्रकाशनको सञ्चालक समितिमा बस्नुपर्‍यो । तर, म कुनै पदमा नभए पनि उनीहरूको पाएको भन्दा सम्मान, इज्जत र प्रतिष्ठा मैले पाइरहेको छु । यसैले मलाई एकेडेमीमा जानु छैन । एकेडेमीमा गएर के गर्ने ? साहित्यिक कार्यक्रमहरूमा प्रमुख अतिथि हुने ? त्यो त आजभन्दा १५/२० वर्षदेखि प्रमुख अतिथि भइरहेकै छु ।


अहिले प्रकाशन भइरहेका नेपाली साहित्य कस्तो लागिरहेको छ ?


अहिले विशुद्ध साहित्य पढ्न पाउन अलि गाह्रो भइसक्यो । त्यही भएर म पुरानो साहित्य पढ्दै छु । भिक्टर ह्युगो, समरसेट ममहरूलाई पढ्न थालेको छु ।


अहिलेका नयाँ किताब तीन-चार सय रुपैयाँ हालेर किन्यो, ३०/४० पेज पुग्नेबित्तिकै दिक्क लागेर थन्क्याउनुपर्छ । भाषा हेर्दा चमत्कारिक हुन्छ, तर भित्र केही गुदी नै हुँदैन । त्यस्ता किताबहरू धेरै आए । नयनराज पाण्डे, बुद्धिसागर, अमर न्यौपाने लगायत एक-दुई जना अपवाद छाडेर अधिकांश लेखक गुटको जोडबलले माथि आएका छन् ।


अहिले सिर्जनात्मक हिसाबले के गर्दै हुनुहुन्छ ?


सिर्जनामा लागिरहेकै छु । पहिले म गजल मात्र लेख्न केन्दि्रत थिएँ, अहिले भने विभिन्न सिर्जना कर्ममा बाँडिएको छु । अहिले ६/७ वटा पाण्डुलिपि मसँग तयार छ । गजल, गजलसम्बन्धी आलेख, मुक्तक, विभिन्न गजलकारका कृतिमा लेखेको भूमिकाहरूको राम्रै संग्रह बन्छ ।


अहिलेसम्म एक सय १० वटा गजलकृतिमा भूमिका लेखेको रहेछु । त्यसबाट गजलको संस्थागत विकासमा टेवा पुगेको ठानेको छु । तीमध्येबाट २५ वटा छानेर, सम्पादन गरेर एउटा कृति निकाल्ने विचार छ ।


पूर्वप्रकाशित गजलसंग्रहहरूबाट गजल छानेर एउटा राम्रो संग्रह निकाल्ने कुरा पनि भएको छ । विभिन्न ३१ जना साहित्यकारहरूको बारेमा लेखेको व्यक्तिपरक लेखको संग्रह पनि राम्रै हुन्छ । त्यस्तै साहित्यिक पत्रकार र लेखकहरूको छुट्टाछुट्टै अन्तर्वार्ता संग्रह पनि तयार छ । अन्तर्वार्ता संग्रह निकाल्न एउटा प्रकाशकसँग कुरा पनि भइरहेको छ ।



‘अहिलेका अधिकांश गजल मेकअप गरे जस्ता छन्’
Advertisements:

0 comments:

Post a Comment

Recent Posts