Subscribe Twitter FaceBook

Pages

Sunday, August 14, 2016

जब बुढा कम्युनिष्ट नेतालाई चुम्न युवा भीड उत्रियो

Advertisements:

Fidel-Castro


३० साउन,काठमाडौं । आधुनिक युवा पुस्ताका लागि मिथक जस्ता लाग्ने क्युवाली कम्युनिस्ट क्रान्तिकारी फिडेल क्यास्टोले आइतबार हवानामा आफ्नो ९० औं जन्मदिन मनाइरहँदा पनि अमेरिकालाई ललकार्न छाडेेनन् । उनी मौन थिए तर, उनले लेखमार्फत भने-‘अमेरिकी राष्ट्रपतिको म्याकियाबेलियन योजनाप्रति म हाँस्नमात्र सक्छु ।’


विश्व विख्यात कम्युनिस्ट छापामार योद्धा अर्नेस्टो चे ग्वेभारासँगै अमेरिकी साम्राज्यवादविरुद्ध लडेर क्युवाली क्रान्ति सम्पन्न गरेको क्यास्ट्रो निरन्तर ५० वर्ष त्यहाँको राष्ट्रपति बने । उनी अहिले सत्ताको बागडोरमा छैनन् तर, हवानाको सडकमा निस्किएका जनताले उनलाई राष्ट्रपिता भन्दै नारा लगाए ।


अमेरिकाले ६ सय पटक मार्न खोज्यो


विभिन्न गुप्तचर निकायहरुका रिपोर्ट अनुसार ५० वर्षको बीचमा अमेरिकाले फिडेल क्यास्ट्रोलाई मार्न ६ सय पटक असफल प्रयास गर्‍यो । उनले अमेरिका विरुद्ध निरन्तर आगो ओकल्दै क्युबाको सार्वभौमसत्ता जोगाए । अमेरिकाको नाकैमुनी कम्युनिस्ट शासन चलाउँदा उनले धेरै भुक्तमान खेप्नुपरेको थियो ।


आफ्नो ९० औं जन्मोत्सवका अवसरमा क्युवाको हवानास्थित कार्ल माक्र्स थिएटरमा देखिएका फिडेल क्यास्टोले त्यहाँ भाषण गरेनन् । सेतो पुमा ट्याक सुट र हरियो सर्ट लगाएर उपस्थित भएका ती बृद्ध क्युबाली नेता सेतो दारी सुम्सुम्याउदै मुसुमुसु हाँसिरहेका थिए । उनी उनका भाइ तथा क्युबाली राष्ट्रपति राउल क्यास्ट्रो र उनका अनुयायी भेनेजुयलाका राष्ट्रपति निकोलस मदूरोका बीचमा देखिएका थिए ।


बधाइ छ पिताः ९० मिटरको सिगार


५ हजार भन्दा बढि मानिसको सहभागिता रहेको एक भव्य लाइभ समारोहमा मान्छेहरु फिडेल, फिडेल भन्दै चिच्याइरहेका थिए । हलभित्र र हवानाका सडकमा ‘बधाई छ पिता’ भन्ने नारा लागेका थिए । यस्तो लाग्थ्यो क्युबामा ६० वर्षपछि पनि फिडेलका फ्यान घटेका छैनन्, बरु नयाँ पुस्ता उनलाई चुम्न चाहन्छ । वास्तवमा त्यो एक असाधारण भिड थियो ।


फिडेलको जन्मदिन मनाइरहँदा हवानामा उनको जीवनकालका विभिन्न चरणका फोटोहरुको प्रदर्शनी भइरहेको थियो । अझ रमाइलो कुरा त के थियो भने क्यास्ट्रोको सम्मानमा संसारकै सबैभन्दा लामो सिगार बनाइएको थियो । किनकी सिगार उनको प्रिय चीज हो ।

यसका साथै हवानामा सडकमा उनलाई चाहनेहरुको मार्चपास थियो । जनस्तरबाट आधुनिक जमानामा कुनै बुढा कम्युनिष्ट नेताको सम्मानमा उत्रेको यो भीड सायद अद्धितीय हो ।


ल्याटिन अमेरिकी अभिभावक


क्यास्टोले सार्वजनिक राजनीतिक जीवनबाट एक दशकअघि नै सन्यास लिए पनि क्युबालीहरु अहिले पनि उनको ऐतिहासिक विरासत र संघर्ष सम्झिन्छन् । उनी पछिल्लो पटक अप्रिल १९ मा क्युबाली कम्युनिष्ट पार्टीको महाधिवेशनको क्रममा देखिएका थिए । उनले त्यहाँ दिएको ऐतिहासिक भाषण आफैं चर्चामा छ । उनले त्यहाँ अमेरिकी राष्ट्रपतिसँग हात मिलाउने पहिलो क्युबाली राष्ट्रपति आफ्नै भाइको पनि आलोचना गरेका थिए ।


१९२६ मा एउटा सम्पन्न स्पेनिश कृषक परिवारमा जन्मेका उनी गाउँमा हुर्किए । क्युबाको क्रान्तिपछि उनी निरन्तर सत्तामा रहे पनि पछिल्लो ८ वर्षयता उनी अवकाशको जीवनमा छन् । अमेरिका समर्थित फुल्गन्सीय बाटिस्टा विरुद्धको क्रान्ति सम्पन्न भएपछि सन् १९५९ पछि क्युबामा निरन्तर कम्युनिष्ट शासन छ । उनको प्रभावकै कारण छिमेकी भेनेजुयलाल, बोलिभिया, निकारागुवा जस्ता देशमा कम्युनिष्टले चुनाव जितेका छन् ।


म्याराडोनाको पाखुरामा फिडेल


फिडेलको प्रभाव ल्याटिन अमेरिकाभरी छ । ब्राजिल, अर्जेन्टिना, पेरु, चिली, उरुग्वे, कोलम्बिया जस्ता देशमा पनि क्यास्ट्रो लोकप्रिय छन् । महान फुटबलर म्याराडोना उनका फ्यान हुन् । म्याराडोनाले आफ्नो पाखुरामा फिडेल क्यास्ट्रो र चे ग्वेभाराको टाटु खोपेको समाचार विश्वभर चर्चित बनेको थियो । उनी वर्षैपिच्छे क्यास्ट्रोलाई भेट्न र सम्मान प्रकट गर्न क्युबा पुग्थे । उनले आफ्नो पाखुरामा क्यास्ट्रोको अटोग्राफ समेत लिएका थिए ।


अमेरिकालाई मान्छे मार्ने अधिकार छैन


क्यास्ट्रोले आफ्नो जन्मदिनको सन्दर्भमा त्यहाँको एक मिडियामा लामो लेख लेखेका छन् । जसमा उनले अमेरिकाका कारण विश्व अशान्त रहेको परम्परागत आरोप लगाएका छन् । क्यास्टोले हालै लेखेको एक लेखमा शान्ति कायम राख्नुको महत्व दर्शाउदै भनेका छन्, ‘कुनै पनि शक्तिलाई लाखौं जनता मान्ने अधिकार छैन ।’ जुन उनले भन्ने गरेको शत्रु अमेरिकाप्रति लक्षित थियो ।


उनले चीन र रशियालाई न्युक्लियर हतियारले कमजोर पार्न नसकेका महान शक्तिको रुपमा अथ्र्याएका छन् । उनले आफ्नो आधा शताव्दी लामो अमेरिकासँगको द्धन्द्धलाई पुनः स्मरण गरेका छन् । म अमेरिकी राष्ट्रपतिहरुका योजना देखेर र तीनका बहुलठ्ठीपूर्ण हर्कत हेरेर बेस्सरी हाँस्नमात्र सक्छु ।


जसलाई मनमोहन अधिकारीले भेटे


मार्क्स, एंगेल्स जस्ता दार्शनिक र लेनिन,स्टालिन, माओ ,हो ची मिन्ह, किम इल सुङ जस्ता विश्व कम्युनिस्ट आन्दोलनका पहिलो पुस्ताका नेताकै दाँजोमा विश्वभरका कम्युनिस्टले मान्ने फिडेल, अमेरिकालाई चुनौति दिने साहसी योद्धा हुन् । उनको जन्मदिनमा रुसका राष्ट्रपति भ्लादिभिर पुटिनले भनेका छन्- तिमी विश्वले मान्ने महान नेता हौ । त्यसैले तिमी अझ धेरै वर्ष बाँच्नुपर्छ ।


क्युबासँग नेपालको द्धिपक्षीय सम्बन्ध छ तर दुवै देशका राजदूतावास भने छैनन् । क्यास्ट्रोलाई २०५१ सालमा तत्कालिन एमाले सरकारको बेला प्रधानमन्त्री मनमोहन अधिकारीले हवानामा भेट गरेका थिए । जुन भेट सम्भवतः नेपालका सरकार प्रमुखले गरेको पहिलो औपचारिक भेट थियो ।


एजेन्सीहरुको सहयोगमा



जब बुढा कम्युनिष्ट नेतालाई चुम्न युवा भीड उत्रियो
Advertisements:

0 comments:

Post a Comment

Recent Posts