Subscribe Twitter FaceBook

Pages

Saturday, July 16, 2016

मैदानमा फर्किने दिन कुर्दै भोला सिलवाल

Advertisements:

bhola silwal


बिराटनगरको सहिद रंगशाला । रंगशालाको छेउमा रहेको गहेरीटोलमा जन्मिए भोला सिलवाल ।


घरबाट बिद्यालय जाँदा बाटोमा रंगशाला पर्थ्यो । रंगशालामा फुटबल खेलेको हेर्दाहेर्दै भोला फुटबलमा तानिए । बाल्यकालको दिन सम्झँदै भोला भन्छन्, ‘त्यसबेलाको माहोलमा फुटबल लोकप्रिय थियो र म पनि यसमै रमाउन थालेँ ।’


त्यसो त सुरुवाती दिनमा उनले क्रिकेट पनि नखेलेका होइनन् । थुप्रैपटक ब्याट घुमाएका छन् । तर, टोलका साथीहरुले फुटबल खेल्न थालेपछि उनको ध्यान पनि फुटबलतर्फ मोडियो ।


स्कुल ब्यागमा जुत्ता


फुटबल मोहका कारण भोलाको पढाइ राम्रो भएन । बिराटनगरको आदर्श बिद्यालयमा पढेका उनी स्कुले जीवनमा पढाईभन्दा बढि फुटबललाई समय दिन्थे । फुटबलप्रेमकै कारण उनले धेरैपटक आमाबुबाको हातबाट पिटाइ खाएका छन् ।


भोलाका अनुसार उनी स्कुल जाँदा ब्यागमा जहिले पनि एक जोर फुटबल सुज हुने गर्थ्यो । उनी भन्छन्, ‘बिहान घरबाट स्कुल जाने, १ घण्टी पढेपछि भागेर रंगशाला आउने र दिनभर फुटबल खेल्ने, अनि साँझ साथीहरुसँगै घर जाने रुटिन जस्तै थियो ।’


९/१० बर्षको उमेरदेखि उनी स्थानीय मोतिराम क्लबमा आवद्ध भए, जहाँ उनले फुटबलको प्राविधिक ज्ञान सिक्ने मौका पाए । त्यतिबेला कुमार प्रधान प्रशिक्षक थिए ।


भोला सम्झन्छन्, ‘मेरो फुटबल जीवनको पहिलो प्रशिक्षक कुमार गुरु हुनुहुन्छ, उहाँले मलाई खुट्टै समातेर प्रशिक्षण दिनुभएको छ ।’ त्यसपछि सन्तोष बानियाँ, बसन्त अर्याल लगायतले उनलाई प्रशिक्षण दिएका हुन् ।


केहि समयपछि क्लबको ब्यवस्थापन कमजोर रहँदा नियमित प्रशिक्षक हुन छाड्ययो । जसका कारण उनले क्लब परिवर्तन गर्ने निर्णय गरे । बिराटनगरका सिनियर र नाम चलेका खेलाडीहरु सम्राटमै भएकाले उनी त्यहीँबाट खेल्न थाले । १३/१४ बर्षको उमेरदेखि नै साम्राट क्लबबाट उनले जिल्लानस्तरीय प्रतियोगितामा सिनियर टोलीमा स्थान बनाइसकेका थिए । १५ वर्षको उमेरमै उनी मोरङ जिल्ला फुटबल संघको टोलीमा समावेेश भए र ठूला नकआउट प्रतियोगिता खेल्न पाए ।


फुटबल छोडेर गार्मेन्टमा जागिर


फुटबल खेल्न जिल्लाबाहिर गयो, पारिश्रमिक नपाइने । उल्टै आफ्नै पैसा खर्च हुने भएपछि दिक्क भएका उनले फुटबत्रल नखेल्ने निर्णय गरे ।


उनी सम्झन्छन्, ‘२०५८ सालतिर हुनुपर्छ, म एसएलसी दिएर बसेको थिएँ । फुटबल खेल्थेँ तर, पैसा पाउदिनथेँ । अति भएर मैले त्यतिबेला फुटबल नखेल्ने निर्णय लिएँँ ।’


फुटबलबाट टाढा रहने सोचले उनी सुनसरीमा रहेको पुरानो घरमा आएर ३/४ महिना बसे । बिराटनगरमा बस्दा साथीहरु घरमै आएर किचकिच गर्ने डरले उनी सुनसरी पुगेका थिए । त्यहाँ उनले ३ महिना जति गार्मेन्टमा जागिर पनि गरे ।


फुटबल खेलेर पैसा नपाएका उनलाई २ महिनाको जागिरबाट आएको ५ हजार निक्कै ठूलो लाग्यो । सम्भावना त्यतै पो रहेछ भन्ने सोच्न थालेका थिए ।


टर्निङ प्वाइन्ट: सनमुन कप


तर, फुटबलबाट टाढा रहने निर्णय गरेका उनलाई एउटा प्रस्ताव आयो । सुनसरीबाट बिराटनगर आएका बेला दुईजना प्रशिक्षकहरु सन्तोष बानियाँ र बसन्त अर्याल घरमै आएर उनलाई एउटा जानकारी दिए, ‘काठमाडौंमा अण्डर नाइन्टिन सनमुन कप हुन लागेको छ । पूर्वाञ्चलको छनौट इटहरीमा हुँदैछ, खेल्न जानु ।’ उनले प्रशिक्षकलाई मैले फुटबल खेल्न छोडिसकेँ जान्न भने पनि बेलुका बुबा-मम्मीसँग सल्लाह गरेर जाने निर्णय गरे ।


भोलाले इटहरीको छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरे र सनमुन कपको लागि मोरङ जिल्लाको टोलीबाट छनौट भए । फुटबलबाट लिएको मनमनै लिएको सन्यास तोडियो । काठमाडौंमा सनमुन कपको आयोजना भयो । मोरङको टोली पहिलो चरणबाटै बाहिरिए पनि मिडफिल्ड पोजिसनबाट खेलेका सानो कदका भोलालाई केन्द्रमा धेरैले ‘मार्क’ गरिसकेका थिए । काठमाडौंमा भएको सनमुन कप नै भोलाको फुटबल करिअरको टर्निङ प्वाइन्ट बन्यो ।


पुलिस क्लबमा अनुबन्ध


सनमुन कपको आयोजना नेपाल प्रहरीको तालिम केन्द्रमा भएको थियो । त्यसैले उनी पुलिसका फुटबल अफिसियलको नजरमा पर्न सफल भए ।


प्रतियोगिता सकिएपछि डेढ महिना काठमाडौं बसेर उनले प्रहरीमा ट्रायल दिए । उनको खेल सबैले मन पराए । २०६२ साल जेठ २९ गते भोला पुलिस क्लवमा आवद्ध भए् ।


सोही वर्ष भएको शुभजन्मोत्सव कप फुटबलको सेमिफाइनलमा उनले पुलिसको टोलीबाट डेब्यू गरे । मनाङ मर्स्याङ्दीबिरुद्धको खेलमा ७० मिनेट सकिइसकेको थियो तर, गोल निस्केको थिएन । तत्कालिन प्रशिक्षक योगेन्द्र सुवालले किशोर सुब्बालाई निकालेर भोलालाई हाल्ने निर्णय गरे ।


खेल १०/१२ मिनेटमात्र बाँकी थियो । भोला सम्झिन्छन्, ‘मेरो भाग्य नै भनौं, मलाई मनाङका कप्तान टासी घलेले डिबक्सभित्र ट्याकल गरे र रेफ्रीले हामीलाई पेनाल्टी दिए, हरि दाइ -खड्का)ले गोल गर्नुभयो र हामी फाइनलमा पुग्यौं ।’


त्यो संस्करणको उपाधि पनि पुलिसले जित्यो । डेब्यू प्रतियोगितामै उपाधि जित्ने भाग्यमानी खेलाडीमा पर्छन भोला । त्यसपछि पुलिसको टोलीमा उनको प्रभाव बढ्न थाल्यो ।


पुलिस क्लबले सहिद स्मारक एडिभिजन लिग ३ पटक तथा राष्ट्रिय लिग १ पटक जित्दाको स्वर्णीम पुस्ताका सदस्य हुन् भोला । नकआउट प्रतियोगिताको उपाधि त गनिसाध्य छैन ।


पछिल्ला दुई तीन बर्षमा पुलिसको टोली केहि लड्खडाएपनि २०६० देखि १० बर्षसम्म नेपाल पुलिस क्लबले घरेलु फुटबलमा तहल्का मच्चाइरहेको छ । लिग च्याम्पियनको हैसियतले एएफसी प्रेसिडेन्ट कपमा पुलिसले खेल्दा उनी ५ पटक सहभागी भएका छन् । पाकिस्तानमा भएको संस्करणमा पुलिस उपबिजेतासम्म बनेको थियो ।


bhola silwal2


राष्ट्रिय टोलीको यात्रा


पुलिसको टोलीबाट एकपछि अर्को उत्कृष्ट प्रदर्शन गर्न थालेपछि उनलाई राष्ट्रिय टोलीमा बोलाइयो । यो २०६५ साल साउनको कुरा हो ।


त्यतिबेलाको लिग बिजेता पुलिस क्लब पाकिस्तानमा भएको एएफसी प्रेसिडेण्ट कपमा उपबिजेता बनेर आएको थियो । र, राष्ट्रिय टोलीका प्रशिक्षक थिए अहिलेका पुलिसका प्रशिक्षक बिराटकृष्ण श्रेष्ठ । त्यतिबेला ८ जना पुलिसका खेलाडी राष्ट्रिय टोलीमा परेका थिए ।


भारतको हैदराबादमा भएको एएफसी च्यालेन्ज कप अन्तर्गत समूह चरणको दोस्रो खेलमा उनले उत्तर कोरियाबिरुद्धको खेलमा राष्ट्रिय टोलीबाट डेब्यू गरे । समूह चरणको पहिलो खेलमा नेपाल म्यानमारसँग ३-० ले पराजित भएपछि प्रशिक्षक श्रेष्ठले दोस्रो खेलमा टोलीमा ब्यापक फेरबदल गरेका थिए ।


त्यसैमा उनीसँगै पुलिस क्लबकै रविन श्रेष्ठले पनि राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए । उपाधिको प्रमुख दावेदार उत्तर कोरियासँग नेपाल १-० ले हारेको थियो । समूहको तेस्रो खेलमा नेपालले श्रीलंकालाई ३-० ले हराएको थियो ।


त्यसयता भोला निरन्तर राष्ट्रिय टोलीमा पर्न सफल छन् । नेपालले प्रमुख प्रतियोगिताको उपाधि जित्न नसके पनि उनको प्रदर्शन भने उल्लेख्य थियो ।


नेपालले सन् २०११ र २०१३ मा दक्षिण एशियाली फुटबल साफमा सेमिफाइनलसम्मको यात्रा तय गर्दा भोलाको प्रदर्शन व्यक्तिगत रुपमा सन्तोषजनक थियो ।


एक वर्षदेखि मैदानबाहिर, फुर्सदमा बिहे


राष्ट्रिय टोलीमा करिव १ दशक योगदान दिएका भोला अहिले गम्भीर चोट बोकेर बसिरहेका छन् । उनी मैदानमा नदेखिएको १ बर्ष हुन लाग्यो ।


गत बर्ष भदौमा भारतबिरुद्ध पुनेमा भएको मैत्रिपूर्ण फुटबल खेलका क्रममा चोटग्रस्त भएका भोलाले त्यसयता राष्ट्रिय टोलीमा प्रतिनिधित्व गरेका छैनन् ।


उक्त खेलमा गोलिगाँठाको चोट ब्यहोरेका उनले ए डिभिजन लिगका बाँकी खेलहरु खेल्न सकेनन् भने भारतमा भएको साफ च्याम्पियनसीप तथा बंगलादेशको बंगबन्धु गोल्डकप लगायतका प्रतियोगिता गुमाए । गोलिगाँठाको चोट पूर्ण निको नहुँदै उनले मोफसलका नकआउट प्रतियोगिताहरुमा नेपाल पुलिस क्लबबाट खेल्न थाले, जुन उनका लागि प्रत्युत्पादक सावित भयो । पोखरामा भएको आहा रारा गोल्डकपमा एपीएफबिरुद्धको खेलमा उनको घुँडामा चोट लाग्यो । त्यसयता करिव ६ महिना भयो भोलाले फुटबल मैदानमा पाइला नराखेको ।


अहिले उनको दैनिकी पुलिस क्लबमा जाने, टोलीले ट्रेनिङ गरेको हेर्ने, आफ्नो चोटका बारेमा डाक्टरहरुसँग परामर्श लिने गरेर वितिरहेको छ । फुर्सदको समय सदुपयोग गरेर उनले विवाह पनि गरे । गृह नगर बिराटनगरमा भएको प्रतियोगिता खेल्न पुगेका उनले त्यहीँबाट चार बर्ष लामो प्रेमसम्बन्धलाई विबाहमा परिणत गरेका हुन् ।


भोलाको मूख्य चोट घुँडामा छ । डाक्टरी भाषामा उनको समस्या एमसिएल पार्सिलिटीयर हो । साथै मिनिस्कसमा सामान्य समस्या देखिएको छ । यसका लागि अझै कम्तिमा ५ महिना पूर्ण आरामको जरुरी हुन्छ । त्यतिबेलासम्म फिजियोथेरापीसँगै औषधि सेवन गर्नु पर्नेछ । र, त्यसबेलासम्म पनि मिनिस्कसको समस्या समाधान नभए सामान्य शल्यक्रिया गर्नुपर्ने पनि डाक्टरले बताएका छन् । भोला भन्छन्, ‘ फिट भएपछि अझै म ३/४ बर्ष सक्रिय फुटबल खेल्न सक्छु ।’


एन्फाबाट आशा


नेपाल पुलिसमा आवद्ध भएकाले उनलाई उपचारमा सजिलो भएको छ । तर उनको मुख्य चिन्ता भनेको लामो समयसम्म राष्ट्रिय टोलीबाट योगदान गरेका खेलाडीले एन्फाबाट उचित हेरचाह पाउनुपर्छ भन्ने छ ।


उनले चोटग्रस्त राष्ट्रिय खेलाडीलाई बिदेशमा उपचारको ब्यबस्था गर्न सके ठूलो राहत हुने बताए । ‘बिदेशमा गम्भीर प्रकृतिका चोट पनि ६/७ महिनामा पूर्ण निको हुन्छ । तर हामीसँग त्यस्तो साधन र जनशक्ति छैन । हाम्रोजस्तो मुलुकमा बिशेषगरी घुँडाको चोट लागेपछि खेलजीवन सकियो भन्दा हुन्छ,’ उनले भने ।


बर्तमान नेपाली फुटबलमा भोलालाई निक्कै खट्किएको अर्को पक्ष भनेको खेलाडीको पलायन हो । ‘यहाँ हरेक खेलाडीहरुले फुटबलबाट आफुलाई आर्थिक रुपमा सुरक्षित महशुस गर्न सकेका छैनन्, मैदानमा खेलिरहँदा पनि पैसाको अभावले पिरोल्छ,’ भोला भन्छन्, ‘परिणामस्वरुप राष्ट्रिय टोलीबाट उत्कृष्ट खेलिरहेका खेलाडीहरु पलायनको बाटो रोज्न बाध्य छन् ।’


क्लबहरुले खेलाडी आवद्ध गरिसकेपछि १२ महिनाकै पारिश्रमिक दिनुपर्ने गरी नियमन गरिनुपर्ने भोलाको माग छ । तीन विभागीय बाहेक नेपालका सबै क्लबहरुमा त्यो समस्या रहेको उनले बताए ।



मैदानमा फर्किने दिन कुर्दै भोला सिलवाल
Advertisements:

0 comments:

Post a Comment

Recent Posts