Subscribe Twitter FaceBook

Pages

Tuesday, July 5, 2016

‘प्रवुद्ध व्यक्ति’ को हल्का टिप्पणी ! नेपालसँग मजाक गर्ने कि गम्भीर हुने ?

Advertisements:

EPG-Meeting


सन् १९५० को नेपाल-भारत शान्ति तथा मैत्री सन्धिलगायत दुईपक्षीय सन्धी सम्झौताहरुको पुनरावलोकनका लागि गठित समिति प्रवुद्ध व्यक्तिहरुको समूह (इपीजी)को पहिलो बैठक सोमबारदेखि काठमाडौंमा सुरु भएको छ । तर, भारतबाट आएका एकजना ‘प्रवुद्ध व्यक्ति’को अत्यन्तै हल्का टिप्पणी सुनेपछि नेपालीहरु खासै उत्साहित देखिएका छैनन् ।


भारतीय प्रवुद्ध व्यक्तिको संयोजक बनेर वैठकमा सहभागी हुन काठमाडौं आइपुगेका भगतसिंह कोसियारीले सोमबार उदघाटन मन्तव्यका क्रममा ‘सिरियस मजाक’ गरे । ‘सिंहदरबारमा नीलाम्बर आचार्यको जति अधिकार छ, उति भगतसिंह कोसियारीको पनि छ भनें भने कुरा बिग्रिइहाल्छ’ भन्दै कोसियारीले पशुपतिनाथमा नीलाम्बर आचार्य र भगतसिंह कोसियारीको समान अधिकार भएको बताए ।


कूटनीतिकरुपमा प्रस्तुत हुनुपर्ने ठाउँमा कोसियारी हास्य कलाकारजस्तै गरी प्रस्तुत भए । उनले यसरी हास्य रसको भाषण गरिरहँदा सहभागीहरुवीच हाँसो छाएको थियो । कोसियारीले आफ्नो मन्तव्यमा भुटानको प्रशंसा गर्दै त्यहाँका जनताजस्तै नेपालीहरु सुखी हुनुपर्ने बताए ।


नेपाल-भारतवीचका सन्धी सम्झौताहरुको समीक्षा गर्ने प्रवुद्ध समितिका भारतर्फका संयोजकको भूमिकामा रहेका कोसियारीलाई थाहा हुनुपर्ने हो कि नेपाल र भूटानवीचको सम्बन्ध कस्तो छ ? र, नेपाल-भारत सम्बन्धमा भुटानको नाम नेपालीहरुले कसरी लिन्छन् भन्ने पनि कोसियारीलाई पक्कै थाहा भएको विषय हो ।


नेपाललाई नाकाबन्दीमार्फत भुटानीकरण गर्ने असफल प्रयास गरेको भारतीय पक्षले भूटानजस्तै बन्न सुझाव दिनुले सम्बन्धलाई सहज बनाउँदैन, बरु बिगार्छ । भुटानमा भारतको एकछत्र प्रभाव छ, त्यहाँ भारतले चिनियाँ लगानी भित्र्याउनसमेत दिँदैन । भारतले नेपाललाई पनि भुटान जस्तै बनाउने उद्देश्यले नाकाबन्दी गरेको धेरै समय भएको छैन ।


bhagat singh koshiyariयस्तो बेलामा कोसियारीले नेपाल पनि भूटानजस्तै बनोस् भन्नुका पछाडि या त कुनै गम्भीर कूटनीति लुकेको छ, या त उनको होस्ल्याङे बोलीका कारण भएको कमजोरी हो यो ।


भुटानमा यतिबेला राजतन्त्र छ, नेपालमा गणतन्त्र आएको छ । कसैबाट छिपेको कुरा होइन कि भारतको सत्तारुढ जनता पार्टीका बरिष्ठ नेता एवं उत्तराञ्चल राज्यका पूर्वमूख्यमन्त्री कोसियारी नेपालमा पनि हिन्दु राष्ट्र र राजतन्त्र रुचाउने नेता हुन् । उनले हिन्दु आँखाले मात्रै नेपाललाई बुझ्दै आएका छन् ।


नेपाल र भारतवीचको सम्बन्ध सुधारका लागि दुई देशका सन्धि सम्झौताहरुको पुनरावलोकन गर्ने र दुई देशवीचको दूरीलाई घटाउने महत्वपूर्ण जिम्मेवारी बोकेको प्रवुद्ध समितिका संयोजकले नै यसरी हल्काफूलका टिप्पणी गर्दा यसको परिणाम सकारात्मक हुनुको साटो नकारात्मक बन्ने खतरा रहन्छ ।


प्रवुद्ध समितिमा बसेर काम गर्ने प्रवुद्ध व्यक्तिहरुले आफ्नो पद र उपमा अनुसारको व्यवहार देखाउन सक्नुपर्छ ।


‘ग्रेटर नेपाल’देखि ‘गोर्खाल्याण्ड’सम्म ?


भारतका तर्फबाट प्रवुद्ध समितिमा रहेका अर्का एकजना विद्वानले केही महिनाअघि ग्रेटर नेपालको ब्लगमा अन्तरवार्ता छपाएको पाइएको छ । यदि यो संयोग हैन भने या त यी प्रवुद्ध व्यक्तिमाथि प्रश्न उठ्छ, या ग्रेटर नेपाल अभियानमा भारतीयहरुको रुचि उजागर हुन्छ ।


BC-Upretiप्रशंग हो, प्रवुद्ध समूहको बैठकमा भारतीय पक्षको पंतिनिधित्व गर्ने राजस्थान विश्वविद्यालयका प्रोफसर विद्वान भुवनचन्द्र (बीसी) उप्रेतीको ।


सन् १९५० को सन्धी पुनरावलोकन लगायतका विषयमा सुझाव दिने समितिका सदस्य रहेका उप्रेतीको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको ब्लगमा छापिएको अन्तरवार्तामा सन् १९५० को सन्धीको खुलेर बचाऊ गरिएको छ । उप्रेतीले खुला सीमाना हुनुपर्नेमा खुलेर लविङसमेत गरेका छन् ।


हेर्नुहोस् उप्रेतीको अन्तरवार्ताः खुला सीमामा प्रतिबन्ध आत्मघाती हुनेछ’


प्रवुद्ध समूहका सदस्य रहेका उप्रेती भारतको उत्तराञ्चल पिथौरागढका बासिन्दा हुन् । उनी राजस्थान युनिभर्सिटीका प्रोफेसर एवं नेपाल र भुटानका विज्ञ मानिन्छन् । रोचक संयोग के परेको छ भने कोसियारीले नेपाललाई भुटानजस्तो ‘सुखी’ बन्न सुझाव दिइरहँदा प्रवुद्ध समूहको भारतीय टोलीमा ‘भुटानविद’लाई समेत भारत सरकारले पारेको छ ।


काठमाडौंमा बसाइँ सरेर आएका भारतीयहरुका बारेमा किताब लेखेका प्रोफेसर उप्रेती साउथ एशिया स्टडीज सेन्टरका पूर्वडाइरेक्टर हुन् । उनी तीनचोटि यसको डाइरेक्टर बनेका थिए ।


उप्रेतीले ३६ वटा किताबको सम्पादन गरेका छन् । ३ सय जति आर्टिकल लेखेका छन् जसमध्ये १५० जति रिसर्च आर्टिकल लेखेका छन् । उनले राजस्थान कलेजको पि्रन्सपल लगायतको भूमिका निभाइसकेका छन् । हाल उनी विवेकानन्द इन्टरनेशनल फाउन्डेसनको इन्टरनेशनल फेलो हुन् ।


नेपालमा माओवादीका विषयमा किताव लेखेका उप्रेतीले नेपाली राजनीति र गणतन्त्रका विषयमा पनि पुस्तक लेखेका छन् । उनी नेपाल र भारतका नागरिकवीच जनसम्बन्ध एवं खुल्ला सीमानाका पक्षपाती हुन् । उनी १९५० को सन्धी परिवर्तन गरिनुहुँदैन भन्ने धारणा राख्छन् । भारतले १९५० को सन्धीको विषयमा राय दिन किन कुमाऊ गढवालतिरका उप्रेतीलाई नै रोज्यो ? अपेक्षा गरौं, यो एउटा रोचक संयोग हुन सक्छ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चालाई अन्तरवार्ता दिने भुवनचन्द्रको नाम झट्ट सुन्दा नेपालीजस्तै लाग्छ ।


mahendra-p-lama

प्रा. डा. महेन्द्र पी लामा



त्यस्तै इपीजीको बैठकमा जवाहरलाल युनिभर्सिटीका प्रोफेसर डा. महेन्द्र पी लामा अर्का भारतीय प्रवुद्ध सदस्यका रुपमा काठमाडौं आएका छन् । सिक्किम विश्वविद्यालयका संस्थापक उपकुलपतिसमेत रहेका लामा गोर्खाल्याण्ड आन्दोलनका समर्थकसमेत मानिन्छन् । भारत सरकारले गोर्खाल्याण्डलाई अहिलेसम्म मान्यता दिएको छैन ।


स्मरणीय के छ भने भारतमा रहेका गोर्खाली जातिका अधिकांश नागरिकहरु १९५० को सन्धी खारेज हुनुहुँदैन भन्ने पक्षमा छन् । भारतको दार्जिलिङलगायतका जिल्लामा सन् १९५० को सन्धीको समर्थनमा आवाज उठ्ने गरेको पाइन्छ । जबकि नेपालमा सन् १९५० को सन्धीको विरोध लामो समयदेखि हुँदै आएको छ ।


तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले ०५१ सालमा भारत भ्रमणका बेला १९५० को सन्धि संशोधन हुनुपर्ने प्रस्ताव गरेका थिए । सन्धि पुनरावलोकनका लागि भारत तयार रहेको चर्चा त्यतिबेलैदेखि चलेको हो । र, यो सन्धिको पुनरावलोकनमा भारतको भन्दा नेपालको चासो बढी छ ।


यो अवस्थामा गोर्खाल्याण्ड आन्दोलनसँग नजिक रहेका व्यक्तिलाई प्रवुद्ध व्यक्ति समूहमा समावेश गराएपछि यसले नेपाल र भारतका नेपाली भाषीवीच अन्तरसंघर्ष बढ्ने सम्भावना बढाएको छ ।


सामुदायिक एवं भावनात्मक हिसाबले प्रोफेसर लामा नेपालीसँग नजिकजस्तै लाग्छन् । उनी नेपाली भाषा सहजै बोल्छन् । तर, सन् १९५० को सन्धीलाई हेर्ने मामिलामा उनी र नेपालीहरुको दृष्टिकोण मिल्दैन । विगतमा लोकसभाको चुनावसमेत लडेका लामा एकेडेमिकसँगै भावुक अभियन्ता पनि हुन् ।


jayanta-prasadचार सदस्यीय भारतीय प्रवुद्ध समूहका चौथा व्यक्ति हुन् पूर्वराजदूत जयन्तप्रसाद ।


संयोजक कोसियारीभन्दा निकै गम्भीर देखिने जयन्तले ब्यरोक्रेसीका तर्फबाट भारतीय टोलीको प्रतिनिधित्व गरेका छन् ।


भारतको ब्यूरोक्रेसीले नेपाल मामिलालाई कसरी हेर्छ भन्नेमा नेपालीहरु भुक्तभोगी नै छन् । यद्यपि राजदूतका रुपमा जयन्तप्रसादको नेपाल बसाइको भूमिका पूर्वराजदूत राकेश सूदको जस्तो आक्रामक नभएर निकै सन्तुलित प्रकारको थियो ।


नेपाली टोलीको विविधता


भारतसँग गरिएका सन्धी सम्झौताहरुको पुनरावलोकनका लागि सुझाव दिन गठन गरिएको नेपाली टोलीमा कोसियारीभन्दा अलि गम्भीर व्यक्तिहरु समावेश भएका छन् । नेपाली टोलीका संयोजक डा. भेषबहादुर थापा भारतका लागि पूर्वराजदूतसमेत भइसकेका अनि लामो कूटनीतिक अनुभव संगालेका व्यक्ति हुन् ।


Nepal-EPG-tram


त्यसैगरी संविधानविद् नीलाम्बर आचार्य पनि अन्तरराष्ट्रिय सम्बन्ध र नेपाल-भारत मामिलाका जानकार व्यक्ति हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख सूर्यनाथ उपाध्याय नागरिकता एवं सीमा समस्याबारे विज्ञता हासिल गरेका राष्ट्रवादी एवं स्वच्छ छविका पूर्वप्रशासक हुन् । उनीहरुको नियतमा शंका गर्ने ठाउँ छैन ।


नेपाली टोलीका अर्का सदस्य डा. राजन भट्टराई सांसद एवं एमालेका युवा नेता हुन् । युवापुस्ताका प्रतिनिधि मानिने डा. भट्टराईले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका छन् । उनी पनि काबिल सदस्य मानिन्छन् नेपाली टोलीमा ।


तर, भारतसँगको सम्बन्ध एवं पुराना सन्धी सम्झौताहरुको पुनरावलोकनसम्बन्धी अध्ययन गर्न गठन गरिएको नेपाली टोलीमा वैचारिक एकरुपता एवं समावेशिता भने राम्रोसँग मिल्न सकेको देखिँदैन । यो टोलीमा मधेसी, महिला र जनजाति अनुहार पनि मिल्न सकेको भए सुनमा सुगन्ध हुने थियो ।


नीति निर्माणका हरेक क्षेत्रलाई समावेशी बनाइनु नेपालको संविधानले नै ग्यारेन्टी गरेको कुरा हो, भारतको संविधानमा त्यस्तो बाध्यता छैन । विचारका हिसाबले पनि नेपाली टोलीका सदस्यहरुमा कोही सीमाना खुल्ला राख्नुपर्छ भन्नेहरु छन् त कोही तारबार नै लगाउनुपर्ने पक्षका छन् । यो अवस्थामा यस्तो समितिले कस्तो सुझाव तयार पार्ला भन्ने प्रश्न निकै रोचक छ ।


नेपालको सरोकार र कचल्टिएको घाऊ


भारतसँग नेपालको सम्बन्धबारे चर्चा गर्दा केहीले अन्धराष्ट्रवादी, मण्डले राष्ट्रवादी, उग्रराष्ट्रवादी आदिको संज्ञा दिने गर्छन् । तर, यिनै अन्धराष्ट्रवादीहरुले बारम्बार खबरदारी नगरेको भए नेपाल यात सिक्किम बन्ने थियो, या कोसियारीले भनेकोजस्तो भुटान बन्ने थियो । हो, यसवीचमा नेपाल गरीव र परनिर्भर रह्यो होला, तर दक्षिण एशियाको एकमात्र पुरानो सार्वभौमिक राष्ट्रका रुपमा रह्यो ।


अर्कातर्फ भारतसँग दलाली गर्ने, आफ्नो छोराछोरीका लागि दूताबासमा छात्रवृत्ति माग्ने, पार्टीलाई चुनाव खर्च माग्ने, देशका सूचनाहरु बेचेर मातृभूमिविरुद्ध जासुसी गर्ने अनि विकासका नाममा प्राकृतिक स्रोत साधनहरु कौडीको भाऊमा दिने र मुलुकलाई झनै परनिर्भर बनाउने काम पनि यो अवधिमा नेपालका नेताहरुले गरेका हुन् र गरिरहेकै छन् ।


राज्यका अनेक अंगका भारतका दलाल र राष्ट्रविरुद्ध जासुसी गर्ने क्रम तीब्र बनेको छ । देशका कुनै पनि गौप सूचनाहरु सुरक्षित हुन छाडेका छन् । भारतीय रअले नेपालमा जालो बिच्छ्याएको छ ।


पछिल्लो समय नेपालमा अर्को प्रवृत्ति के देखिएको छ भने आफूलाई मात्रै राष्ट्रवादी देख्ने र अरुलाई राष्ट्रघातीको बिल्ला भिराउने । अनि छिमेकीको विरोध गरेर आफूलाई राष्ण्ण्घट्रवादी देखाउन खोज्ने । छिमेकीको हाउगुजी देखाएर राष्ट्रवादका नाममा कुर्सीमा टिक्ने र भ्रष्टाचार गर्ने ।


प्रतिफस्वरुप भारतले लिएका आयोजनाहरु अहिलेसम्म नेपालमा अलपत्र परेको अवस्था छ । कोशी पीडितले भारतबाट पाउनुपर्ने राहत अहिलेसम्म पाएका छैनन् । २५ वर्षसम्म हुलाकी मार्ग बन्न सकेको छैन । १५ वर्षसम्म पञ्चेश्वर परियोजना अघि बढेको छैन । अहिले अरुण तेस्रो र माथिल्लो कर्णालीमा पनि भारतीय कम्पनी घाम तापेर बसिरहेको अवस्था छ ।


विकास आयोजनाहरु ओगट्ने र नेपाललाई सम्वृद्धिको बाटोमा हिँड्न ढिलाइ गरिदिने काम भारतीय पक्षबाट हुँदै आएको छ । ०४५ सालमा र ०७२ सालमा लगाइएको नाकाबन्दी र नाकाबन्दी गर्न उक्साउने नेपाली दुबैले समीक्षा गर्नुपर्ने बेला आएको छ ।


नेपाल-भारतवीचको सीमा समस्या पनि आवश्यकताभन्दा बढी समय लम्बिएको छ । अधिकांश स्थानको सीमा समस्या सुल्झाउन प्राविधिक तहबाट काम भइरहे पनि सुस्ता र कालापानीको घाऊमा भारतले उपचार खोजेको देखिँदैन । बरु लिपुलेकमा अर्को विवाद थप्ने काम भएको छ ।


दुई देशका प्रधानमन्त्रीले परराष्ट्र मन्त्रालयलाई सुस्ता र कालापानीको समाधान खोज्न भने पनि यसबारे समाधान निस्कन सकेको छैन ।

नेपालसँगको सरोकार राख्ने विभिन्न पक्षमा भारतीय अधिकारी एवं विज्ञहरुले साँचो अर्थमा समाधान खोज्छन् या मजाकपूर्ण भाषणहरु गरेर, मीठो कुरा गरेर लट्पट्याउँछन् ? सम्भवतः अब प्रवुद्ध समूहले अब आफ्नो काम सिद्ध्याएर आ-आफ्ना सरकारलाई सुझाव दिने बेलासम्म केही निकास निस्केला कि ?


प्रयास राम्रो हो, तर भावनाले हुँदैन


दुई देशवीचको सम्बन्ध सुधारका लागि विज्ञहरुको समिति बनाउनु र काम थाल्नु सकारात्मक कुरा हो । कतिपय कमी कमजोरीका बाबजुद पनि यो प्रयासलाई सकारात्मकरुपमा लिनुपर्ने हुन्छ ।


सोमबार अन्नपूर्ण होटलमा आयोजना गरिएको बैठक उदघाटन कार्यक्रममा परराष्ट्रमन्त्री कमल थापाले नेपाल र भारतवीचको सम्बन्ध सुधार गर्न यो प्रवुद्ध समूहले प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरे । त्यस्तै भगतसिंह कोसियारीले नेपाल र भारतको सम्बन्धलाई ‘एउटै रक्तसमूह’को संज्ञा दिए । नदीहरुको संद्दा दिए । तर, यी त सब भावनात्मक कुराहरु हुन् ।


भगत सिंहले नेपाली र भारतीयको रक्तसमूह एउटै हो भनिरहँदा नेपालीका मनमा यो प्रश्नले घर गरिरहेको छ- ‘उसोभए एउटै रक्तसमूहका नेपालीलाई किन नाकाबन्दी लगाएर तड्पाएको त हजुर ?’


यस्तो संशयपूर्ण परिस्थितिमा प्रवुद्ध समूहले काम गर्नुपर्ने अवस्था छ । तर, मंगलबार सकिने यो दुई दिने बैठक पहिलो भएकाले यसमा सम्भवतः कार्यविधि एवं एजेण्डहरु मात्रै तय गरिने छन् । दुई देशको सम्बन्धबारे यो बैठकले बहसको अन्त्य हैन, थालनी गर्नेछ । र, नेपालमा पनि अवश्यै ‘भारत-सम्बन्ध’बारे अब राष्ट्रिय बहस हुनेछ ।


‘काठको पुजारी, सुनको कोमण्डलु’


प्रवुद्ध व्यक्ति समूहको पहिलो बैठकमा सहभागी हुन भारतीय टोली आइतबार काठमाडौं आइपुग्यो । परराष्ट्रमन्त्री कमल थापाले आइतबार नै छिमेकी पाहुनालाई याक एण्ड यति होटलमा रिसेप्सन दिए ।


पहिलो बैठकका दिन अन्नपूर्ण होटलमा राम्रै तामझाम र खर्च भयो । सोमबार भारतीय दूताबासले दुबै देशका कूटनीतिज्ञ र नेतालाई भोजको प्रवन्ध गर्‍यो । मंगलबारसम्म चल्ने बैठकमा यस्तो खर्चपर्च राम्रैसँग हुनेछ ।


तर, उपलब्धि कम र तामझाममात्रै बढी भयो भने ‘काठको पुजारी र सुनको कोमण्डलु’को सम्झन लायक हुनेछ । भनिन्छ, सत्य युगमा योगीहरु सुनले सुसज्जित थिए भने उनीहरुले बोक्ने कोमण्डलु चाँहि काठका थिए । तर, कलियुगमा जोगीहरुले सुनको कोमण्डलु बोक्न थाले । र, जोगीहरुको स्तर चाँहि काठमा परिणत भयो !


कामना गरौं, सुनको महंगो थालमा डिनर खाएर बैठक बसिरहेका दुबै देशका ‘प्रवुद्ध व्यक्ति’हरु काठमा परिणत नहुन् ! नेपाल-भारत सम्बन्ध सुधारका लागि यो बैठक सार्थक बाटोमा अघि बढोस् ।



‘प्रवुद्ध व्यक्ति’ को हल्का टिप्पणी ! नेपालसँग मजाक गर्ने कि गम्भीर हुने ?
Advertisements:

0 comments:

Post a Comment

Recent Posts