Subscribe Twitter FaceBook

Pages

Wednesday, July 13, 2016

सार्वजनिक नगर्दै चुहियो देउवा र प्रचण्डको ७ बुँदे सहमति

Advertisements:

prachanda--sherbahadur


२८ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरेको केही घण्टा नबित्दै नेपाली कांग्रेस र माओवादीबीच भएको सातबुँदे सहमति सार्वजनिक भएको छ ।


सातबुँदे सहमतिमा माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका छन् । र, यसमा प्रयोग भएको भाषाले नै स्पष्ट गर्छ कि यो सहमति माओवादीले सरकारबाट समर्थन फिर्ता लिनुअघि नै तयार पारिएको हो ।


कांग्रेस र माओवादीबीच भएको सहमतिको सातौं बुँदामा कांग्रेस र माओवादीको संयुक्त सरकार गठन गर्ने उल्लेख छ । लगत्तै भनिएको छ, ‘यसका लागि माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिई आफ्ना मन्त्रीहरु फिर्ता बोलाउने तथा प्रधानमन्त्रीको निर्वाचनका लागि आवश्यक सबै प्रक्रिया अवलम्बन गर्ने ।’


सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गर्न माओवादीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता कृष्णबहादुर महाराले दुई दलबीच सहमति भइसकेको दाबी गरे । तर, सहमतिबारे केही खुलाएनन् ।


कांग्रेस नेताहरुले भने माओवादी र कांग्रेसको बीचमा सहमति भएको औपचारिक रुपमा स्वीकार गरेका छैनन् । अनलाइनखबरसँगको अन्तरवार्ताका क्रममा माओवादीका एक नेताले कांग्रेससँग लिखित सम्झौता भएको स्वीकार गर्दै बुधबार औपचारिक रुपमा सार्वजनिक गरिने बताएका छन् ।


‘लिक’ भएको सातबुँदे सहमतिको मस्यौदामा संविधानलाई लिएर देखा परेको असन्तुष्टिलाई सम्बोधन गर्न राजनीतिक सहमतिका आधारमा सीमांकनसहितका विषयमा संविधान संशोधन गर्ने उल्लेख छ ।


त्यसैगरी स्थानीय तह पुनःसंरचनसम्वन्धी आयोगले प्रतिवेदन बुझाएपछि स्थानीय, प्रदेश र केन्द्रको चुनाव गर्ने दुई दलको अर्को सहमति छ ।


तेस्रो बुँदा शान्ति प्रक्रियाबारे उल्लेख उल्लेख छ । सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता सम्वन्धी आयोगको कानुनमा संशोधन गर्ने, पीडित परिवारलाई क्षतिपूर्ति दिने र जग्गा विवाद सहमतिमा समाधान गर्ने सहमतिमा उल्लेख छ ।


भूकम्पपछिको पुनर्निर्माणलाई तीव्रता दिने, कालोबजारी रोक्ने र देशलाई आर्थिक सम्बृद्धिको बाटोमा लैजाने पनि कांग्रेस र माओवादीको सहमति उल्लेख गरिएको छ ।


आइतबार बालुवाटारमा आयोजित सत्तारुढ दलको बैठकमा प्रधानमन्त्री केपी ओलीले ओनसरीको च्याम्बरमा बसेर कांग्रेससँग सातबुँदे सम्झौता गरेको भन्दै माओवादीमाथि आपत्ति जनाएका थिए ।


नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच भएको सहमतिपत्र


जनताको चहना अनुसार १२ बुँदे समझदारी, २०६२/०६३ को जनआन्दोलन, बिस्तृत शान्ति सम्झौतासम्मको सहमति र सहकार्यलाई स्मरण गर्दै, संबिधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान प्राप्त भएको ऐतिहासिक उपलब्धिमा गर्भ गर्व गर्दै नेपाली जनताको साझा सम्पत्ति नेपालको संविधानलाई सबै नेपालीले स्वीकार गर्ने वातावरण सुनिश्चित गर्न, संबिधानको कार्यन्वयन गर्न, संक्रमणकालीन न्यायसँग सम्बन्धित शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न, बिनाशकारी भूकम्पबाट भूकम्पबाट उत्पन्न समस्याको निराकरण गर्न, बेरोजगारी, महंगी, कालोबजारी र दैजिक उपभेाग्य बस्तुको अभावका जनताले भोग्नु परेको पिडा समाधान गर्न नेपाली समाजमा ब्याप्त असन्तोष र निराशा समाप्त पार्दै देशलाई शान्ति, स्थिरता, आर्थिक सम्बृद्धि एवं विकासतर्फ अग्रसर गर्ने प्रतिवद्धता व्यक्त गर्दै निम्नलिखित सहमति गर्दछौं


१. नेपालको संबिधान जारी भएसँगै देशभित्र देखा परेको असन्तुष्टि, तराई मधेसमा भएको आन्दोलन, थारु लगायत सबै आदिबासी जनवातिका अधिकार सम्वन्धि सवाल समेतलाई दृष्टिगत गरी राजनीतिक सहमतिका आधारमा सीमांकन लगायतका लगायतका बिषयमा सम्बोधन गर्न आवश्यक शंसोधन गरी संविधानको सर्वस्वीकार्यताका लागि राजनीतिक सहमतिको वातावरण बनाउने ।


२. नेपालको संविधानले प्रत्याभूत गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको ऐतिहासिक उपलब्धिको रक्षा गर्दै संविधानको कार्यान्वयनका लागि आवश्यक नीति, संरचना र कानूनी व्यवस्था गर्ने । स्थानीय तहको सङ्ख्या र सीमांकन निर्धारण गर्न गठित आयोगबाट चाँडै कार्य सम्पन्न गरी स्थानीय तहको निर्वाचन र प्रदेश सभा र संघीय संसदको निर्वाचन सम्पन्न गर्ने ।


३. संक्रमणकालीन न्यायको बिषयलाई सम्बोधन गर्न गठन गरिएका सत्य निरुपण तथा मेलमिलाप आयोत र ब्यक्ति बेपत्ता सम्बन्धि आयोगसँग सम्बन्धित कानून आवश्यक संसोधन गरी समाजमा शान्ति तथा मेलमिलाप स्थिति बनाउन आयोगहरुलाई प्रभावकारी रुपले कार्य गर्ने वातावरण बनाउने । सशस्त्र संघर्षको क्रममा मारिएका मृतकका परिवार, बेपत्ता भएका व्यक्तिका परिवार, अंगभंग भएका ब्यक्ति र विस्थापित भएका ब्यक्तिले पाउनुपर्ने बाँकी रहेको क्षतिपूर्ति रकम उपलब्ध गराउने । सशस्त्र संघर्षको अवधिका जग्गा सम्बन्धि विवाद सहमतिका आधारमा समाधान गर्ने ।


४. बि. सं. २०७२ साल बैशाख १२ र २९ गते गएको बिनाशकारी भूकम्पका कारण भएको जनधनको क्षति र यसबाट उत्पन्न समस्यालाई गम्भीरतापूर्वक लिई पीडितहरुलाई राहत प्रदान गर्ने, पुनर्निर्माण र पुनर्स्थापनाको कामलाई राष्ट्रिय अभियानका रुपमा तीव्र गतिमा अगाडि बढाउने ।


५. देशमा शान्ति सुरक्षा र सुशासनलाई प्रत्याभूत गर्न, कालोबजारी, कृत्रिम अभाव, महंगी अन्त गरी दैनिक उपभोग्य सामाग्री सहज उपलब्ध हुने ब्यवस्था गर्ने ।


६. नेपालको संविधान परिकल्पना गरे बमोजिम देशमा शान्ति स्थिरता, सुशासनको प्रत्याभूति गर्दै अर्थिक समृद्धि तथा बिकासको अभियान सञ्चालन गर्ने ।


७. उपर्युक्त प्रतिबद्धता कार्यान्वयन गर्न नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त सरकार गठन गर्ने । यसका लागि नेकपा माओवादी केन्द्रले तत्काल एमाले नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिई आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने र नयाँ प्रधानमन्त्रीको निर्वाचनका लागि आवश्यक सबै प्रक्रियाहरु अवलम्वन गर्ने ।



सार्वजनिक नगर्दै चुहियो देउवा र प्रचण्डको ७ बुँदे सहमति
Advertisements:

0 comments:

Post a Comment

Recent Posts