Subscribe Twitter FaceBook

Pages

Friday, July 8, 2016

भिजिलान्तेले डुबायो, पशुपतिप्रसादले उठायो

Advertisements:

dipendra k khanal२४ असार, काठमाडौं । नेपाली चलचित्र जगतमा प्रतिभाशाली निर्देशकको कोटीमा पर्दछन् दीपेन्द्र के खनाल । पछिल्लो समय  एकपछि अर्को सफल फिल्म दिइरहेका छन् उनी ।


पछिल्लो फिल्म ‘पशुपति प्रसाद’ बाट आफूलाई उत्कृष्ट निर्देशक साबित गर्दै खनालले यसपालि लगालग दुईवटा अवार्ड हात पारे । चलचित्र विकास बोर्डको राष्ट्रिय चलचित्र पुरस्कार र चलचित्र कलाकार संघको फान अवार्डमा दीपेन्द्रले उत्कृष्ट निर्देशकको अवार्ड जितेका हुन् ।


सात वर्षअघि ‘द युगदेखि युगसम्म’ देखि अहिले प्रदर्शनको पर्खाइमा रहेको ‘चपली हाइट २’ सम्म आइपुग्दा उनले सातवटा फिल्म निर्देशन गरिसकेका छन् । यिनै फिल्महरू बनाउँदाको अनुभव उनकै शब्दमाः


द युगदेखि युगसम्मः पहिलो गाँसमै ढुंगा


पढ्ने सिलसिलामा पाँच वर्ष जापान बसेर फर्किँदा अब फिल्म बनाउँछु भनेर माइन्ड मेकअप गरेको थिएँ । जापान बसुन्जेल जापानीहरुको काम गर्ने र जीवन जिउने तरिकाले निकै प्रभावित पार्‍यो । उनीहरु कुनै निश्चित काम समाएर त्यसमा निपुण हुन्छन् । मैले पनि एउटा लाइन समाउनुपर्छ र त्यो मैले रुचाएको फिल्म क्षेत्र नै हो भन्ने निष्कर्षमा पुगेको थिएँ ।


नेपाल आएपछि परम्परागतभन्दा अलिक फरक शैलीको फिल्म बनाउने सोच थियो । जीवनमा नयाँपनकै खोजीमा रमाउने म फिल्ममा पनि त्यस्तै चाहन्थेँ । विषयवस्तुदेखि हरेक चिज नयाँ होस् । उमेरमा पनि भर्खर २५ वर्षको लक्का जवान थिएँ ।


तर, फिल्म बनाउन हाम फाल्दा पो थाहा भयो, यहाँ त स्थिति अर्कै रैछ ।  फिल्म निर्माणमा वितरकहरुले फलानो हिरो राख, यतिवटा फाइट राख, नत्र चल्दैन भनेर प्रभाव जमाउने अवस्था रैछ । फिल्म बनाएपछि पनि हलमा लगाउन पालो पर्खनुपर्ने ।

त्यतिबेला गायक अर्जुनकुमार पनि केही गरौं भनेर बसेका रै’छन् । उनकै लगानीमा यो फिल्म बनाइयो ।


खासमा म त्यतिबेलाको युनिटी ब्यान्डका सुदिन पोखरेल, आसिफ साह र गिरीश खतिवडालाई कलाकारका रुपमा लिएर फिल्म बनाउन चाहन्थेँ । तर, बजारको ताल देखेर बीचको बाटो रोज्न बाध्य भएँ । त्यसैक्रममा त्यो समयमा चल्तीका नायक राजेश हमाललाई नयाँ गेटअपमा प्रस्तुत गरेँ । तर, फिल्म खासै बिकेन ।


धर्माः चाहेजस्तो भएन


अबचाहिँ व्यवसायिक फिल्म बनाउनुपर्‍यो भनेर यो फिल्मको काम सुरु गरेँ । नारी चरित्रको संघर्षको कथा थियो । आफैंले लेखेको थिएँ ।


त्यतिबेला बनिरहेको व्यावसायिक फिल्मभन्दा राम्रो बनाउँछु भन्ने सोच थियो । तर खोजेको एउटा, भयो अर्कै । कथा नै परिवर्तन गर्नुपर्ने अवस्था आयो । निर्माताको छोरालाई हिरो राख्नुपर्ने परिबन्द आइपर्‍यो ।


मनीषा कोइरालालाई यसै फिल्ममार्फत नेपाली फिल्ममा पुनरागमन गराएँ । तर, राज्य व्यवस्थाप्रति नारी संघर्ष देखाउने फिल्मको थिम त्यत्तिकै मार्नुपर्‍यो । फिल्मको विषय नै मोडिने अवस्थामा के फिल्म बनाइराख्नु भनेर यो प्रोजेक्टबाट पछि हट्न लागेको थिएँ । तर, अरुले नेपाली फिल्म यस्तै हो, सम्झौता नगरी हुँदैन भनेर थामथुम पार्ने काम भएपछि पूरा गरेँ । यो फिल्मले पनि व्यवसायिक सफलता चाख्न सकेन ।


चपली हाइटः ट्राफिकले पोष्टर च्याते


पहिलोचोटि आफ्नो मनले चाहेको फिल्म बनाएको यही हो । अब जसले जेसुकै भनोस्, कसैको कुरा सुन्दिनँ भनेर लागेको थिएँ । सत्य घटनामा आधारित कथा थियो । आधुनिकताका नाममा नेपाली समाजको बदलिँदो ट्रेन्ड र यसमा युवा पुस्ताको अवस्था देखाउन खोजेको थिएँ ।


हामीकहाँ गाउँघरको कुरा, हरिया डाँडापाखा देखाउन सक्यो भने मात्र अर्गानिक फिल्म मान्ने चलन छ । तर, सहरको कोठा-कोठामा हुने घटनालाई उपेक्षा गरिएको अवस्था छ । यी पनि त हाम्रै समाजका यथार्थ हुन् । सहरका धेरै कथालाई अझै पनि हेरिएको, छोइएको छैन । तिनलाई उपेक्षा गर्नुहुँदैन ।


त्यतिबेला काठमाडौंमा चपलीहाइटको पोस्टरमा चालकको आँखा गएर दुर्घटनाको जोखिम बढ्यो भन्ने पनि कुरा आयो । ट्राफिक प्रहरीले विभिन्न ठाउँबाट पोस्टर हटाए पनि । त्यसले आखिरमा फिल्मकै प्रचार भयो । फिल्मलाई दर्शकले पनि मन पराए ।



फिल्म प्राविधिकरूपमा सफल भयो । तर, व्यवसायिक सफलता पाउन सकेन । काठमाडौंमा दुईवटा हल क्यूएफएक्स र एफ क्युबमा मात्र थियो थ्रीडी सुविधा । यसैले फिल्मले सोचेजति व्यापकता लिन सकेन



भिजिलान्तेः थ्रीडीको असफल प्रयोग


नयाँ प्रयोग रुचाउने मेरो स्वभाव नै हो । यसै क्रममा नेपालमा थ्रीडी प्रविधि भित्र्याउने सुरु कसेँ । नेपालमा थ्रीडी फिल्म बनेको छैन भनेरै त्यसमा काम गरेको हुँ । यसका लागि जापानबाट क्यामेरा मगाएँ । थ्रीडी प्रविधिमा मुख्यरुपमा क्यामेरा र पोस्ट प्रोडक्सनकै काम बढी खर्चिलो हुन्छ ।


फिल्म प्राविधिकरूपमा सफल भयो । तर, व्यवसायिक सफलता पाउन सकेन । काठमाडौंमा दुईवटा हल क्यूएफएक्स र एफ क्युबमा मात्र थियो थ्रीडी सुविधा । यसैले फिल्मले सोचेजति व्यापकता लिन सकेन । ७०/७५ लाख रुपैयाँ लगानी गरेको थिएँ । ५० लाख जति घाटा लाग्यो । आज सोच्दा मैले समयभन्दा अगाडि नै नयाँ प्रविधिसँग खेल्ने दुस्साहस गरेँ जस्तो लाग्छ । त्यो फिल्म यतिखेर गरेको भए राम्रो हुन्थ्यो । अहिले त राजधानी बाहिरका विभिन्न ठाउँमा पनि थ्रीडी फिल्म देखाउने हल बनिसकेका छन् ।


झोलेः डार्क कमेडीको सफल प्रयोग


नयाँ शैली प्रयोग गर्दा जोखिम त हुन्छ । तर, जोखिमसँग खेल्दा त्यसको मजा नै छुट्टै पाइन्छ । तीन वर्षअघि ‘डार्क कमेडी’ जेनरामा बनाएको झोेले फिल्म पनि एउटा प्रयोग थियो ।


हास्य चेतका फिल्म कमै छन् हामीकहाँ । कमेडी भइकन  पनि विदेश गएर पैसा कमाउन चाहने निम्नमध्यम वर्गको आकांक्षा र सहरिया नगरबधुको संघर्षमय जीवनलाई पनि मैले चित्रण गरेको छु ।


त्यतिबेला देशको स्थिति हेर्दा राजनीतिक वातावरणका कारण मान्छेहरू हत्तु हैरान थिए । उनीहरूलाई अलिक रिप|mेसमेन्ट दिनु जरुरी पनि थियो । त्यस्तो बेला मान्छेहरुलाई हँसाउँदा मजा नै होला भन्ने लाग्यो । त्यो फिल्मपछि नै कमेडीको टे्रन्ड सुरु भयो । ‘कबड्डी’ त्यसपछि आएको फिल्म हो ।


पशुपति प्रसादः मेरो रुचीको फिल्म


‘झोले’ बनाएपछि दुई वर्ष यत्तिकै बसेँ । त्यो बीचमा सोचेँ मात्रै । ‘भिजिलान्ते’ ले ५० लाख रुपैयाँको ऋण बोकाएको थियो । त्यो तिर्नु थियो । मान्छेले व्यवहारमा परेपछि सिक्ने रैछ । उमेरले पनि परिपक्वता आउँदो रैछ ।


pasupatiprashadयत्तिकै ब्रेक लिएर बसे पनि मैले आराम भने गरिनँ । मान्छे र मानवीय संवेदनाको बारेमा केलाएँ । मैले विभिन्न कारणले आफ्नो मनले खाएको फिल्म बनाउन पाएको थिइनँ । त्यसको लागि नै गहिरिएर लागेँ । त्यसैको नतिजा हो ‘पशुपति प्रसाद’ ।


त्यसअघिका फिल्महरू कुनै बजारलाई हेरेर बनाएँ, कुनै पछिल्लो ट्रेन्ड विचार गरेर बनाएँ । तर, पशुपतिप्रसाद मेरो रुचिको फिल्म हो । नितान्त आफ्नो लागि बनाएको हुँ । मेरो स्वादको मानवीय संवेदनाले धेरैलाई छोएर फिल्म सफल पनि भयो ।


‘टलकजंग भर्सेज टुल्के’ निर्माण टोली त्यतिबेला नयाँ फिल्म बनाउन कस्सिएको रै’छ । खगेन्द्र लामिछाने आफ्नै कथाका लागि निर्देशक खोज्दै म कहाँ आउनुभयो । मसँग पशुपतिनाथ मन्दिर क्षेत्रको मार्मिक कथा थियो । मेरो आफ्नै कथा छ भनेर उहाँहरूलाई सुनाउँदा त्यसमा काम गर्न राजी हुनुभयो । ७/८ पटक पुनर्लेखन गर्‍यौं हामीले कथा ।


पशुपति क्षेत्रको अध्ययन गर्ने क्रममा भष्मेश्वर घाटदेखि पारिको पेटीमा म कयौंपटक सुतेको छु । विवशतामा पिल्सएकादेखि सबै कुरामा निश्फिक्री रहेका विचित्र पात्रहरू देख्थेँ त्यहाँ । घाटको धुवाँ र रुवाबासीदेखि बेखबर भई डेटिङमा हाँसखेल गर्ने ठिटा-ठिटीहरू पनि हुन्थे ।


धार्मिक क्षेत्रमा अनेकौं अडबाङ्गा कुरा देखेँ । विवादित होला, धार्मिक हिसाबले सेन्सर होला भनेर कति कुरा फिल्ममा समेटिनँ ।

मानवीय संवेदना र सम्बन्धहरूकै कथा हो पशुपति प्रसाद । सधैं सताउने र खुराफाती मात्र सोच्ने भष्मे डन पनि सीधा बाटोमा आएको देखाइएको छ । जस्तोसुकै खराब मानिएको मान्छेमा पोजेटिभ इमोसन पनि हुन्छ भनेर चित्रण गरेको हुँ ।


चपली हाइट २ः सिक्वेल होइन


नामका कारण यो चपली हाइटकै सिक्वेल हो कि भन्ने लाग्न सक्छ । तर, अलग्गै विषयवस्तु र परिवेश रहेको फिल्म हो यो । यति भईकन चपली हाइटमा जस्तै युवा पुस्ताकै कथा छ यसमा । प्रेम, धोका र सम्बन्धका विविध आयाम देखाइएको छ । फिल्ममा समेटिएका चरित्रहरू काठमाडौंमा देखेकै जेनेरेसन हो । रोमान्स थि्रलर जेनरामा बनाएको छु फिल्म ।


सधैं पशुपतिप्रसाद जस्तो फिल्म बनाउन सकिँदैन । फेरि आफ्नो निर्देशकीय खुबीको परीक्षण गर्न पनि फरक-फरक परिवेश र कथावस्तुमा काम गर्न मन लाग्छ ।


चपली हाइट २ भदौ ३ गते रिलिज हुँदैछ । यसपछि भदौ ९ गतेदेखि नै अर्को फिल्म थाल्दैछु । यस अगाडिका फिल्ममा पनि लभस्टोरी कतै न कतै आएको छ । तर, यो पालि पूर्णरुपमा प्रेमकथाको फिल्म बनाउन लागेको छु । कथा, पटकथा र संवाद पनि त्यसमा मेरै हुनेछ । लोकेसनका हिसाबले सहरको परिवेशका साथै गाउँघरको कुरा पनि हेर्न पाइनेछ ।



भिजिलान्तेले डुबायो, पशुपतिप्रसादले उठायो
Advertisements:

0 comments:

Post a Comment

Recent Posts