लेखनबाट नामको एउटा शिखरमा पुगेर सुस्ताइसकेका छन् मनु ब्राजाकीले । पाठकको प्रतिक्रियाबाट तृप्ति पनि मजाले चाखेका छन् ।
यतिबेला ७३ वसन्तको पात चुँडिएको जिन्दगीमा न उकालो, न ओरालोको सफरमा छन् उनी । कथा लेख्दालेख्दै आफैं भने कथाको किताबबाट च्यातिन लागेको पाना जस्तो अवस्थामा छ यात्रा । यसैले होला, मनु पछिल्लो समय पुराना दिनको लेखाजोखा गर्न थालेका छन् ।
जीवनमा के कुरा सिकेँ ? ज्ञान प्राप्तिका लागि के उपाय गरेँ ? त्यो यात्रामा कति हण्डर खाएँ ? निष्कर्ष के निकालेँ ? यस्तै प्रश्नहरू पौडी खेल्न थालेका छन् मगजमा ।
ताजा अवस्था सुनाए – ‘जीवनको अन्तिम किताब लेख्न थालेको छु । जगत्लाई बुझ्ने क्रममा जीवनको भूमिका के-कस्तो रह्यो त भनेर केलाउँदै छु ।’ उनले भनेको अन्तिम किताबको नाम पनि जुराइसकेका छन् – ‘मेरो चेतनाको जीवनयात्रा’ । यसरी उनी जीवनको लास्ट इनिङ खेलिरहँदा यसको योगफल निकाल्न झैं आत्मकथा लेखनमा तल्लीन छन् ।
०००००
महोत्तरीको औरहीमा खानदानी भण्डारी परिवारमा जन्मिएका थिए चेतमानसिंह । हजुरबाले नाति संस्कृत पढोस् भनेर जोड गर्थे । बुबा चाहिँ छोरा अंग्रेजीमा छुरा होस् भन्ने चाहने । हजुरबा र बाको गनगन सुन्दै यी चेतमानले अध्ययनकै क्रममा भारतको बनारसमा १४ वर्ष गुजारे । तर समयक्रममा नेपाली शब्दका शिल्पी भएर निस्किए ।
कथा लेखेरै त्यो पुरानो नामलाई नागरिकताको परिचयपत्रमा सीमित रहने गरी उनले मनु ब्राजाकी परिचयलाई स्थापित गरे । साहित्यबाट नाम कमाए पनि मदिराका कारण एक समयका बदनाम पात्र हुन् उनी । बिजुली चुरोटका उस्तै अम्मली । टुन्न भएर धुवाँ फुक्न पाउँदा घर-संसार नै बिर्सने !
रोगले गाँजेपछि मदिरा र चुरोट दुवैसँग अहिले दूर-दूरसम्म कुनै नाता छैन । चार वर्षदेखि बिलकुल ‘साधु’ भएका छन् ।
०६० सालमा उनलाई पहिलो पटक मस्तिष्काघात भयो । यसपछि उनको पढ्ने-लेख्ने र चिन्तन-मनन गर्ने नियमित जिन्दगी नराम्ररी खलबलियो । दिमागले जोड दिनुपर्ने सिर्जनशील लेखनमा विराम जस्तै लाग्यो । पुरानो कुरा सम्झन नसक्ने स्थिति आयो । सिर्जनशील कार्यमा सिलसिला मिलाउनुपर्ने कष्ट दिमागले उठाउन नसक्दा मनुको मन निकै भक्कानियो त्यस बेला । भन्छन् – ‘एकातिर मानसिक रूपमा रित्तो भएँ । अर्कातिर लेख्न नसक्नुको पीडा सहिनसक्नुको भयो ।’ लेख्ने कुरो मनमा आए पनि अडिएर बस्दैन थिए ।
प्लट र चरित्र निर्माण गर्नुपर्ने प्रक्रियामा दिमागको जोर चल्न नसकेपछि कथा लेखन त ठप्पै भयो । लेख्ने तलतल मेट्नकै लागि खुद्राखाद्री रूपमा गजल लेखे । सकिनसकी भूमिका, टिप्पणी लेखेर आफूलाई सान्त्वना दिइरहे । तर, मूल रुपमा कथाकारको जीवन बाँचेका सर्जक आफूभित्रै कथाका किरमिरे प्लट गुम्सिँदा छटपटाइरहे ।
००००
छ वर्षअघि छोरीको आग्रहमा अमेरिका पुगेपछि मनुको स्वास्थ्य निकै फर्केको छ । त्यहाँको अस्पतालमा पाएको उपचार सेवाले उनी सन्तुष्ट पनि छन् । उच्च रक्तचापका कारण मस्तिष्कमा आघात खेप्नुपरेको भनिए पनि मुटुको समस्याले दुःख दिएको थाहा भयो ।
रगत पातलो पार्ने औषधि चलाएपछि उनको दिमागले केही सोच्न र सम्झिन सक्ने भएको छ । साढे एक वर्षयता फेरि कथा लेख्न थालेका छन् । भन्छन् -‘तर हात छिटो चल्दैन । पहिले १० पाना लेख्ने समयमा अहिले मुश्किलले एक पाना लेख्न सक्छु ।’ तैपनि कथाबाट नेपाली समाजको रूपरेखा उतार्न सक्ने गरी मानसिक क्षमतामा पुग्दा उनमा बेग्लै मुस्कान छाएको छ ।
पुख्र्यौली थलो पोखरा भए पनि मनुले महोत्तरीको औरहीदेखि जनकपुरसम्मको हावापानी चाख्दै उमेर नापेका छन् । एक दशकयता ललितपुरको सैंबु भैंसेपाटी स्थायी ठेगाना बनेको छ । घरबाहिर हत्तपत्त निस्किँदैनन् । सम्पर्कमा जोडिने समकालीन साथीभाइ कोही देख्दैनन् । सम्झिए ‘जगदीश घिमिरे बितिगए । उनीसँग लामो साहित्यिक विमर्श हुन्थ्यो युवा बेलामा । अहिले त समकालीन को छ र खै ! ज्ञानुवाकर पौडेलसँग फाट्टफुट्ट फोन सम्पर्क हुन्छ ।’
जगदीश चाहिँ कस्ता साथी भने, पत्रपत्रिकाहरूमा लेखरचना पठाउँदा आफ्ना मात्र नभई मनुका रचना पनि पठाइदिइरहन्थे । जगदीशले ‘साबिती’ उपन्यास लेख्नुअघि कयौं दिन सरसल्लाह हुँदा ती दुई तन्नेरी मित्रले एकले अर्कोलाई त्यो उपन्यास लेख्न उक्साइरहे । सानैदेखि तर्कशील मनुले सल्लाह र ऊर्जा दिने भूमिकामा मात्र आफूलाई उभ्याए । पछि साबिती जगदीशले नै लेखे । संघर्षको बेलामा अन्तरंग रहेका दुर्गा बराल (वात्स्यायन) लाई पनि उनी विशेष सम्झिन्छन् ।
बुझ्ने उमेर हुँदै जाँदा समाजभित्रको वर्ग संघर्ष र अँध्यारो-उज्यालोबारे त थाहा पाए । तर, कुनै पार्टीविशेषमै लागेर चाहिँ हिँडेनन्
०००००
कुनै समय मार्क्सवादको छाप दह्रो गरी परेको हो मनुमा । बनारसमा कक्षा ८ मा पढ्दै गर्दा नै उनलाई नेता पुष्पलाल श्रेष्ठले कम्युनिष्टको पुस्तिका दिएका थिए । त्यतिबेला उनको दिमागले केही पर्गेल्न भने सकेन । पछि बुझ्ने उमेर हुँदै जाँदा समाजभित्रको वर्ग संघर्ष र अँध्यारो-उज्यालोबारे त थाहा पाए । तर, कुनै पार्टीविशेषमै लागेर चाहिँ हिँडेनन् ।
स्वतन्त्र विचारकै यात्री भएर हिँडे पनि उनी साहित्यमा कलासँगै विचार पनि जोड्नु आवश्यक देख्छन् । जीवनमा पनि दुवैको तालमेल जरुरी ठान्छन् उनी । भन्छन् – ‘सफल जीवन त्यो हो, जुन कला र विचारबाट सन्तुलित हुन्छ ।’
विचारकै भरिया भएकाले पनि उनी समाजलाई ब्यूँझाउन आफूले कथा लेख्ने गरेको दाबी गर्छन् । आफू पनि चिन्तनशील रहेर चिन्तनशीलतातर्फ अभिप्रेरित गर्न लेख्छन् उनी । ‘चिन्तनशील बनाउनु भनेकै क्रान्तिकारी कर्त्तव्य हो,’ सिर्जना यात्रामा उनले रोडम्याप नै बनाएका छन् – ‘पाठकवर्गमा हुने चिन्तनको प्रक्रियाले समाजलाई प्रभावित पार्ने नयाँ नेतृत्वको जन्म हुन्छ ।’
नयाँ पुस्ताका लेखकहरूमा भने चिन्तनशीलता भन्दा चाँडै चर्चामा आउने फेसन बढी देख्छन् । तिनले साहित्यलाई गम्भीर विषयमा नभई मनोरञ्जनमा सीमित गरिदिएका छन् ।
गजल लेखनमा पनि धेरैले खेलवाड गरेको उनले देखेका छन् । गजल गेय मात्र भएर नहुने, त्यसमा जीवन दर्शन नै खन्याउनुपर्ने उनको मान्यता छ । भन्छन् – ‘गजल लेखेर फिल्मी गजलकार हुन सजिलो छ, गालिब हुन गाह्रो ।’
००००
उनका कथाहरूमा गरिबी, अभाव र विवशताका कुरा बढी नै आउँछन् । भोक र चीत्कारले जुलुस लगाउँछन् । राम्रो लाउने, मीठो खाने आम सपना देख्ने एउटी सोझी कमली परिबन्दमा पर्छे । ऊ बजारले मोल बढाबढ गर्ने नामी नगरबधु क्रिस्टिनामा परिणत हुन्छे । त्यस पछाडिका सामाजिक गडबडी र असन्तुलन उनी कथामा संकेत गर्छन् ।
देश नै गरिब भएकाले गरिबी र राज्यको अव्यवस्थाका प्रसंग विभिन्न रूपमा लेखनमा आउनु स्वाभाविक मान्छन् उनी । भन्छन् – ‘पारिवारिक विघटनले समाजमा विभिन्न समस्या निम्तिरहेको छ । त्यस क्रममा उत्पीडितमध्येमा पनि जातीय, वर्गीय हरेक हिसाबले नारी नै बढी उत्पीडित देखिन्छन् ।’
देख्दादेख्दै पञ्चायत ढलेर बहुदलीय प्रजातन्त्र आयो । राजतन्त्र फालिएर गणतन्त्र झुल्कियो । तर, समाज उही दुःख र दुरवस्थामा पिल्सिएकै छ । यसमा उनको साहित्यिक व्यक्तित्व बेखुसी छ
साहित्यमा चलिआएको विभिन्न वादको भुलभुलैया देखेर मनुलाई झोंक चल्छ । गरिबको विषय मार्क्र्सवादीहरूले मात्रै उठाउने ठेक्का ठानेको देख्दा उनलाई चित्त बुझ्दैन । उनी कडा प्रतिवाद गर्छन् – ‘गरिबीको विषय कम्युनिष्टका लागि मात्र भाग लगाइएको है नि बाबा ! जसले पनि रोज्न सक्छ । तर, त्यो विषय उठाउँदा निष्कर्ष चाहिँ फरक रूपमा आउन सक्छ ।’
००००
देशमा पुराना सामाजिक संरचना ध्वस्त हुँदै गएअनुसार नयाँ संरचना निर्माण नहुँदा अन्योलको अवस्था छ । देख्दादेख्दै पञ्चायत ढलेर बहुदलीय प्रजातन्त्र आयो । राजतन्त्र फालिएर गणतन्त्र झुल्कियो । तर, समाज उही दुःख र दुरवस्थामा पिल्सिएकै छ । यसमा उनको साहित्यिक व्यक्तित्व बेखुसी छ । कहिले सोझै त कहिले प्रतीकात्मक रूपमा जनमानसको छटपटी र निकासको चाहना कथामार्फत प्रकट पनि गर्दै आएका छन् ।
कथा लेख्दै आएका उनलाई पछिल्लो समय नेपाली साहित्यमा मौलाएको ‘उपन्यास खेती’ ले खासै तान्न सकेको छैन । उपन्यास लेख्ने समय र त्यसका लागि गर्नुपर्ने दुःखका लागि आफूलाई तयार पाउँदैनन् । तर, कथाभन्दा उपन्यासको शक्ति उनले पारख गरेका छन् । भन्छन् – ‘कथाले मान्छेहरूमा क्रान्ति र परिवर्तनको चेत जगाएर उद्वेलित त बनाउँछ, त्यसमा निरन्तरमा दिएर हिँडाइराख्न भने सक्दैन । उपन्यासले भने समग्रतामा जोड दिँदै निष्कर्षमा पुर्याउँछ ।’
मनुले आफ्नै दुई नामको फरम परिचयसँगै यसको साँध-सिमाना कोरेका छन् । चेतमानसिंहले व्यावहारिक बन्नु बाध्यता र मनु चाहिँ समाज, राष्ट्र, मानवतावाद र सिंगो संसारको चिन्ता लिने साझा व्यक्ति भएको बताउँछन् ।
०००
२०१९ सालबाट पत्रिकामा कथा छपाएर यात्रा सुरु गरेका मनुले अहिलेसम्म समाजका धेरै चरित्रलाई नायक-नायिका बनाइसके । तीन वर्षअघि ‘अन्नपूणर्ाको भोज’ कथासंग्रह छापिएयता छरिएका संस्मरण र लेखहरू बटुल्ने जाँगर चलाउन सकेका छैनन् ।
बरु पछिल्लो समय बगर फाउन्डेसनले उनको विशेषांक निकाल्ने भनेर काम थालेको थियो । विभिन्न साहित्यकारलाई उनीबारे लेखरचना लेख्न लगाएर उनका उत्कृष्ट कथा र अन्य सिर्जना पनि विशेषांकमा समेट्ने योजना थियो । तर, काम जारी रहेकै अवस्थामा गत जेठ दोस्रो साता अप्रत्यासित घटना भयो । बगर फाउन्डेसनका संस्थापक अध्यक्ष साहित्यकार नकुल सिलवालले आत्महत्या गरे ।
कुनै सर्जकको योगदान बुझेर सम्मानस्वरुप पत्रिकाको विशेषांक निकाल्न चाँजोपाजो मिलाउने मान्छेले आफैंलाई भने माया गर्न बिर्सिए ।
नकुल बितेर गए पनि उनले जारी राखेको योजनालाई छोराले पूरा गर्ने भएका छन् । अर्थात् मनुको व्यक्तित्व/कृतित्वबारेको बगर विशेषांक प्रकाशनमा आउनेछ ।
मनुले एक वर्षअघि लेखेको गजलमा उनले जीवनबाट गयल भएर जानेहरूलाई विशेष सम्झिएका छन्ः
जत्रोसुकै भए पनि जिन्दगी हो
छिटै छोडी गए पनि जिन्दगी हो ।
सुखलाई रात-दिनसम्झी सम्झी
दुःख मात्र सहे पनि जिन्दगी हो ।
मनुको लास्ट इनिङः मस्तिष्काघातबाट तंग्रिएका ब्राजाकी आत्मकथा लेख्दै
0 comments:
Post a Comment