Subscribe Twitter FaceBook

Pages

Saturday, July 9, 2016

जुरेको पहिरो र भूइँचालोपछि सिन्धुपाल्चोकमा अर्को विपत

Advertisements:

Bhotekoshi, Photo Shreedhar Neupane (2)


२४ असार, सिन्धुपाल्चोक । दुई वर्षयता सिन्धुपाल्चोक जिल्लामा एकपछि अर्को प्राकृतिक विपत आउन थालेको छ । जुरेको भीषण पहिरोको पीडा भुल्न नपाउँदै सिन्धुपाल्चोकबासीले भूकम्पबाट ठूलो क्षति व्यहोर्नुपर्‍यो । अहिले फेरि भोटेकोशीमा अकस्मात आएको बाढी र विभिन्न ठाउँको पहिरोले जिल्लाबासीमा अर्को विपत आइलागेको छ ।


जिल्ला प्रशासन कार्यालयका अनुसार भोटेकोशीमा आएको बाढीले सिन्धुपाल्चोकमा अहिलेसम्म २५ वटा घरमा क्षति पुर्‍याइसकेको छ । बाह्रबिसेभन्दा माथिको राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडीले अनलाइनखबरलाई जानकारी दिए ।


अझै पनि भोटेकोशीमा बाढी बढ्ने र घट्नेक्रम चलिरहेकाले थप क्षति पुर्‍याउन सक्ने भन्दै सर्वसाधारणका लागि पूर्वसुरक्षा अपनाउन भनिएको प्रजिअ दुवाडीले बताए ।


Bhotekoshi, Photo Shreedhar Neupane (5)


नेपाली सेनाको सहयोगमा जिल्ला प्रशासन कार्यालयले बाढीबाट उच्च जोखिममा रहेका तातोपानी गाविसको भ्यानपार्क भन्ने ठाउँबाट ५८ जनालाई उद्धार गरेको छ ।


‘सेनाको हेलीकोप्टर मगाएर भ्यानपार्कका ५८ जनालाई उद्धार गरेर बाह्रबिसेमा ल्याएका छौँ, त्यसमध्ये ४४ जनाले काठमाडौँ जान चाहेकाले गाडी चढाएर पठायौँ, प्रमुख जिल्ला अधिकारी दुवाडीले भने ।


उद्धार गएर ल्याइएको बाँकीलाई बाह्रबिसेमा स्थानीयवासीको सहयोगमा राखिएको छ ।


बाढीले धेरै ठूलो भौतिक क्षति पुर्‍याए पनि अहिलेसम्म कुनै मानवीय क्षतिको जानकारी नआएको प्रमुख जिल्ला अधिकारीले अनलाइनखबरलाई बताए ।


केही दिनदेखिको बाढीले अहिलेसम्म एउटा झोलुंगे पुल र एउटा गाडी गुड्ने बेलिब्रीज पुलसमेत बगाइसकेको छ ।


Bhotekoshi, Photo Shreedhar Neupane (9)


बाढीबाट माथिल्लो भोटेकोशीको ड्याममा समेत क्षति पुगेको छ । ठाउँ-ठाउँमा बिजुलीको पोल बगाएको प्रमुख जिल्ला अधिकारी दुवाडीले बताए ।


अहिलेसम्मको अवस्थामा बाह्रबिसेबाट ५ किलोमिटरमाथि जम्बु भन्ने ठाउँसम्म जान सकिन्छ । तर, त्यसभन्दा माथिको सडक पूर्ण रुपमा कटान भएको छ । जसले गर्दा जिल्लाबासीको लाइफलाइनमा ठूलो असर पुर्‍याएको छ ।


मानवीय क्षति नभए पनि बाढीका कारण ठूलो भैतिक क्षति भएको छ । केही कुखुरा फार्महरु नदीले बगाएको छ । बाढीले एउटा प्लाइ उद्योग, तारजाली बुन्ने उद्योग र ब्लक निर्माण उद्योगलाई समेत डुबाएको छ ।


Bhotekoshi, Photo Shreedhar Neupane (3)


भूकम्प र पहिरोबाट भर्खरै तंग्रिदै गरेको जिल्लामा भोटेकोशीको बाढीले थप पीडा उत्पन्न गरेको छ । भूकम्पमा बचेका कैयौं घर बाढीपछि गएको पहिरोमा परी भत्किएका छन् । कैयौं घरहरु भीरमा धराप बनेर अल्झिएका छन् ।


कसरी आयो बाढी ?


भोटेकोशी नदीमा मंगलबार राति अकस्मात बाढी आएको हो । मंगलबारदेखि आएको बाढी शुक्रबारसम्म पनि घट्ने बढ्ने क्रम जारी छ । मध्यरातबाट सुरु भएको बाढीले तिब्बतको सीमाक्षेत्र तातोपानीमा दर्जनौं घर बगाएको छ भने दर्जनौं घरहरु पहिरोको उच्च जोखिममा परेका छन् ।


लिपिङ बजार र तातोपानीका अरु पनि घरहरु बगाउने अवस्थामा धरापमा छन् । कोदारी बजारको होटल र घरहरु पनि बग्ने अवस्थामा पुगेका छन् ।


Bhotekoshi, Photo Shreedhar Neupane (4)


नदीमा एक्कासी ५ मीटरभन्दा बढी पानी आएपछि नदी किनाराका घरहरु बगाउनुका साथै डुवानमा परेका हुन् । नदीले किनाराको माटो काट्दा छेवैमा भएका घरहरु भत्किएर नदीमा खसेका छन् ।


मानिसहरु घरबाट निस्केर भाग्न सफल भए पनि सामान निकाल्न नपाउनेहरुको सडक बास हुन पुगेको छ । विजुलीको तार र ट्रान्सफरर्मरसमेत नदीले बगाएपछि बजारमा विद्युत आपूर्तिसमेत बन्द भएको छ ।


भोटेकोशीमा तिब्बततर्फबाट एक्कासी बाढी आएको हो । तिब्बतमा रहेको हिमताल फुटेर बाढी आएको बताइएको छ । चीनले बेलैमा जोखिमको सूचना नदिँदा बढी क्षति भएको गुनासो पनि आइरहेको छ ।


कोसी बेसिन निरन्तर जोखिममा


  • गौरीशंकरमा हिमालमा के हुँदैछ ? कोशी बेसिनका बासिन्दालार्इ थाहा होस् !

  • सिन्धुपाल्चोकको तातोपानीलेखि सुनसरीसम्मको नदी किनाराको भागलाई कोसी बेसिन भनिन्छ । कोसी बेसिनमा भारतको बिहार र गंगा नदीको किनाराका बासिन्दालाई पनि लिइन्छ ।


    विभिन्न अध्ययनले कोसी बेसिनको सिरानमा रहेका हिमतालहरु कुनै पनि बेला फट्न सक्ने भन्दै यो क्षेत्रलाई उच्च जोखिमको क्षेत्र बताउँदै आएका छन् ।


    त्यसैगरी इसिमोडले गरेको अध्ययनले पनि यो क्षेत्रका हिमतालहरु जोखिममा रहेको बताउँदै आएको अवस्था छ । विशेषगरी भूकम्पपछि सिन्धुपाल्चोकका पहाडहरु कमजोर बनेका र पहिरोको जोखिम बढेको विज्ञहरुले गत वर्षदेखि नै बताउँदै आएका हुन् ।


    उद्धार र राहतमा ध्यान दिइयोस्


    Bhotekoshi, Photo Shreedhar Neupane (6)


    सिन्धुपाल्चोक जिल्लाका पहिरो एवं भूकम्प पीडितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने र एकीकृत वस्ती बसाउने चर्चा गत वर्ष सरकारी तहबाट जोडतोडका साथ चलेको थियो । तर, यो योजना समयमै कार्यान्वयनमा नआउँदा जिल्लाबासीले अर्को प्राकृतिक प्रकोपको सिकार हुनुपरेको छ ।


    यद्यपि भोटेकोसीमा बाढी आउनासाथ स्थानीय प्रशासनले समयमै सूचना प्रवाह गरेको र जनधनको बढी क्षति हुन नदिएको स्थानीय सरकारी अहिकारीहरुले बताएका छन् ।


    अब बाढीबाट पुगेको क्षतिका कारण विस्थापित बनेकाहरुको व्यवस्थापन र राहतमा सरकारले जोड दिनुपर्ने आवश्यकता खडि्कएको छ । दुखको कुरा के छ भने गृहमन्त्रालयले भोटेकोसीको क्षतिबारे औपचारिक विज्ञप्तिसम्म जारी गरेको छैन । जिल्ला प्रशासनले २५ घरमा क्षति पुगेको भने पनि वास्तविक क्षति अझै बढी हुन सक्ने स्थानीय बताउँछन् ।


    गृहमन्त्री शक्तिबहादुर बस्नेतले शुक्रबार संसदलाई दिएको क्षतिको विवरणमा पनि भोटेकोशीको क्षतिको विस्तृत विवरण नदिई सामान्य चर्चामात्रै गरिएको छ ।


    (तस्वीरहरू: श्रीधर न्यौपाने)


    यो पनि पढ्नुहोस्


    बाढी पहिरोले दुई महिनामा ४७ को मृत्यु, १६ अझै वेपत्ता



    जुरेको पहिरो र भूइँचालोपछि सिन्धुपाल्चोकमा अर्को विपत
    Advertisements:

    0 comments:

    Post a Comment

    Recent Posts