२२ साउन, बैतडी। लगातारको वर्षापछि पहिरो जाँदा बैतडीको तल्लादेहीमा तीन घर पुरिँदा १८ लाख बराबरको क्षति भएको छ भने जमिन भासिएर ४५ घर उच्च जोखिममा रहेका छन् ।
पहिरोले तल्लादेही गाविस–८ मा डाँडाखालीमा जानकी सार्की, कैले सार्की र माने सार्कीको घर पूर्णरुपमा क्षति हुँदा रु १८ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय, बैतडीले जनाएको छ ।
माथिबाट आएको पहिरोले घर पुर्दा जानकी–४ कोठे घरसँगै घरमा अन्नपात र लत्ताकपडासहित रु सात लाख बराबरको क्षति भएको छ भने कैले सार्कीको आठकोठे घर पुरिँदा करिब रु पाँच लाख बराबरको क्षति भएको छ ।
यस्तै सोही ठाउँका माने सार्कीको चारकोठे घर पुरिँदा रु छ लाख बराबरको क्षति भएको छ । स्थानीय बासिन्दाको सहयोगमा वस्तुभाउ र सामान अन्यत्र सारिएकाले अन्य क्षति भने नभएको प्रहरीले जनाएको छ ।
डाँडाखालीमा रहेको पूरै जमिनमा करिब डेढ फिट तल जमिन भासिएर चिरा परेर तल सरेको बताइएको छ । जमिन भासिएकाले सो ठाउँका ४५ घरपरिवार उच्च जोखिममा रहेका जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी निरीक्षक हरिओम खड्काले जानकारी दिए ।
पहिरोका कारण विस्थापित भएकाहरु अहिले आफन्तको घरमा आश्रय लिएर बसिरहेका प्रहरीले जनाएको छ । पहिरोले मानवीय क्षति भने भएको छैन । घटनास्थल सदरमुकामबाट एक दिनको पैदल दूरीमा पर्छ ।
जमिन भासिदाँ ४५ घर उच्च जोखिममा
0 comments:
Post a Comment