Subscribe Twitter FaceBook

Pages

Thursday, August 18, 2016

‘म स्त्री अर्थात् आइमाई’ बजारमा

Advertisements:

Book-Launch


काठमाडौं । कवि सीमा आभासले आफ्नो तेस्रो कृति ‘म स्त्री अर्थात् आइमाई’ कवितासंग्रह प्रकाशनमा ल्याएकी छन् ।


बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा आयोजित कार्यक्रममा कवि वैरागी काइँला, डा. अभि सुवेदी र ज्योति जंगलले कृतिको लोकार्पण गरे । काइँलाले सीमाका कविताहरूले समाजमा जकडिएर बसेको रुढिग्रस्त विचारलाई चुनौती दिएको टिप्पणी गरे । सर्जकहरूले राजनीतिक पद्धतिमा नभई सोच र मानसिकतामा परिवर्तन खोजेको भन्दै उनले व्यवस्था बदलिए पनि देशमा अझै खास परिवर्तन नआएकोमा चिन्ता व्यक्त गरे ।


समालोचक डा. सुवेदीले विम्बलाई साहसिक रूपमा प्रयोग गरेको भन्दै सीमाको प्रशंसा गरे । कविले शरीरभित्र आफ्नो चेतना आरोपित गरेको सशक्त देखिए पनि बढी उन्मुक्त हुँदा कतिपय ठाउँमा कविता असहज बनेको उनले औंल्याए ।


कविसँग एक दशकदेखि निकट रहेकी कवि ज्योति जंगलले सीमाले विद्रोही शैलीको कविताबाट कुशल राजनीति गरेको बताइन् । ‘आइमाई जाति सभ्यताको प्रभाव र दबाबबाट पिल्सिरहँदा उनले सभ्यतालाई प्रहार गरेकी छिन्,’ ज्योतिले नारीवादी दृष्टि लगाउँदै भनिन् – ‘सृष्टिमा आइमाई रहुन्जेल कविता कालजयी र समसामयिक रहिरहन्छ ।’


कवि सीमाले धेरै कविहरूले काठमाडौंलाई गाली गर्दै कविता लेखे पनि काठमाडौंप्रति आफ्नो विशेष प्रेम र श्रद्धा रहेको बताइन् । विराटनगरको सानो घेरा छोडेर काठमाडौंमा कविता विमोचन गर्न आउनुको कारण पनि त्यही प्रेम रहेको उनले खुलाइन् । ‘काठमाडौंबाट बोल्दा धेरै परसम्म पुग्छ भन्ने ठानेर म यहाँ आएको हुँ,’ उनले भनिन् – ‘काठमाडौं हाम्रो सपना हो ।’


आइमाई शब्दको प्रयोग राजनीतिक रूपमा वर्जित जस्तै बनेको सन्दर्भमा कविले कृतिको भूमिकामा आइमाई र गैह्र-आइमाई -पुरुष) का प्राकृतिक गुणहरूलाई तुलना गरी असमान गुणकै आधारमा आइमाईहरू कमजोर छन् भनेर गरिएका व्याख्यालाई संशोधन गर्ने समय आएको उल्लेख गरेकी छन् । मञ्जरी प्रकाशनले कृति प्रकाशन गरेको हो ।


युवा लेखन वृत्ति पुरस्कार तर्कनालाई


Tarkana-Sharmaकार्यक्रममा मञ्जरी प्रकाशनले एक लाख रुपैयाँ राशिको ‘युवा लेखन वृत्ति पुरस्कार ०७२’ स्याङ्जाकी लेखक तर्कना शर्मालाई दिएको घोषणा गरियो ।


सर्जकहरूलाई उपन्यासका लागि कथासार पठाउन आग्रह गरिएको र त्यसमध्ये शर्माको ‘एक अञ्जुली कौमार्य’ शीर्षकको कथासारलाई उत्कृष्ट ठहर्‍याइएको मञ्जरीका कार्यकारी प्रमुख कृष्ण अविरलले जानकारी दिए ।


पुरस्कृत सर्जकलाई पहिलो चरणमा ३० प्रतिशत रकम दिएर तीन महिनाभित्र उपन्यास लेख्ने समय दिइएको छ । त्यसपछि पुनर्लेखनका लाथि थप एक महिनाको समय दिएर उपन्यास प्रकाशन गरिने अविरलले बताए ।



‘म स्त्री अर्थात् आइमाई’ बजारमा
Advertisements:

0 comments:

Post a Comment

Recent Posts