Subscribe Twitter FaceBook

Pages

Thursday, July 21, 2016

सभामुखको दौडधूप खेर गयो, भिडन्तको मनस्थितिमा प्रमुख दल

Advertisements:

samsad


५ साउन, काठमाडौं । व्यवस्थापिका संसदको सम्भावित तनाव टार्न सकिन्छ कि भनेर सभामुख ओनसरी घर्ती मगरले बुधबार बिहानैदेखि दलका शीर्ष नेताहरुको दैलो ढक्ढकाइन् ।


प्रचण्डनिवास लाजिम्पाटबाट सुरु भएको दौडधूप देउवा निवास बुढानीलकण्ठ र राष्ट्रपति कार्यालय शीतलनिवास हुँदै सिंहदवारमै आएर टुङ्गियो ।


विहीबार संसदमा हुन सक्ने सम्भावित भीडन्तलाई टार्ने उद्देश्यले सभामुख ओनसरीले बुधबार दिनभरि सक्रियता देखाएकी हुन् । तर, सभामुखको दौडधूपले अहिलेसम्म त्यस्तो कुनै सकारात्मक संकेत दिन सकेको छैन । बरु कांग्रेस-माओवादी र एमाले आ-आफ्नै अडानमा टसका मस भएका छैनन् र उनीहरुको दन्तबझान जारी छ ।


बुधबार बिहानै सभामुखले माओवादी अध्यक्षप्रचण्डलाई निवासमै गएर भेटेकी थिइन् । सो भेटमा उनले संसदको प्रक्रियाबारे छलफल गर्न र प्रमुख दलवीच सहमति जुटाउन प्रचण्डलाई आग्रह गरिन् ।


त्यसपछि सभामुखले बूढानीलकण्ठ पुगेर कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि सहमतिमा आइदिन आग्रह गरिन् ।


यसअघि मंगलबार बालुवाटारमा सभामुख घर्तीलेप्रधानमन्त्री केपी ओलीसँग परामर्श गरेकी थिइन् । त्यहाँ प्रधानमन्त्री ओली नरम र सकारात्मक रुपमा प्रस्तुत भएको भन्दै सभामुख घर्तीले दलहरु सहमतिमा आउन सक्ने आशा व्यक्त गरेकी थिइन् ।


मंगलबार नै अनलाइन पत्रिकाका सम्पादकहरुसँग कुरा गर्दै घर्तीले आफू आर्थिक विधेयकहरुलाई पहिला पारित गरेर अविश्वासको प्रस्तावमा छलफल गर्न तयार रहेको स्पष्ट पारेकी थिइन् ।


बिहीबार संसदमा के होला ?


बीहीबार विहानसम्म प्रमुख दलहरुवीच कुनै सहमति भएन भने विहान ११ बजे बस्ने व्यवस्थापिका संसदको बैठक तनावपूर्ण हुने देखिएको छ । सभामुख घर्तीले विहीबार बिहान ११ बजेको संसद बैठकमा सरकारविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने यसअघि नै तय गरिसकेकी छन् ।


कांग्रेस र माओवादीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् र त्यसमा पहिले छलफल हुनुपर्ने अडान राख्दै आएका छन् । एमाले चाँहि अविश्वासको प्रस्तावमा छलफल हुनुभन्दा पहिल्यै कार्यसूचीमा चढाइएका आर्थिक विधेयकहरु पारित गरिनुपर्ने पक्षमा छ ।


जतिबेला संसदमा विनियोजन विधेयकसँग सम्वन्धित तीनवटा विधेयक छलफलको चरणमा थिए, माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै ती विधेयक पास हुन सकेका छैनन् ।


अहिले कांग्रेस-माओवादी र एमालेबीच कुखुरा पहिला कि अण्डा भने जस्तै गरी विनियोजन विधेयकसँग सम्वन्धित तीन विधेयक पहिला कि अविश्वासको प्रस्ताव पहिला भन्ने विवाद देखा परेको छ ।


यसबीचमा सभामुखले एक्लै गरेको पहलबाहेक तीन दलले सहमति खोज्न आवश्यक ठानेको पनि देखिएन । प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिका लागि पहल गर्नुका साटो सार्वजनिक मञ्चबाटै सभामुखमाथि प्रश्न उठाउने र धम्की दिने काम जारी राखेका छन् ।


अघिल्लो दिन सभामुखसँग भेटेर नरमरुपमा प्रस्तुत भएका प्रधानमन्त्री ओलीले बुधबार पार्टीको भ्रातृ संगठनको कार्यक्रमबाट संसदमा अविश्वासको प्रस्ताव पेश हुन नदिने चेतावनीपूर्ण अभिव्यक्ति दिए ।


प्रधानमन्त्रीले एमालेको संसदीय दलको बैठक राखेर विनियोजन विधेयकसँग सम्वन्धित तीन विधेयक पहिला पेश नभए संसद अवरुद्ध गर्ने निर्णय गराइसकेका छन् ।


कांग्रेस र माओवादीले पनि पार्टीको बैठक बसेर पहिला अविश्वासको प्रस्ताव पेश गर्नुपर्ने अडान दोहोर्‍याएका छन् । यद्यपि तीन विधेयक र अविश्वासको प्रस्तावलाई एउटै कार्यसूचीमा राख्न दिने भनेर कांग्रेस र माओवादीले केही लचकता पनि देखाएका छन् ।


तर, अनौठो के छ भने दुबै पक्ष कांग्रेस-माओवादी र एमालेले आपसमा बसेर सहमति खोज्न चाहेका छैनन् । भोलिका दिन फेरि सहकार्य चाहिन्छ भन्नेसमेत बिर्सिएझै गरेर उनीहरु चर्को स्वरमा आ-आफ्नै अडान दोहोर्‍याइरहेका छन् ।


दलहरु आफ्नो अडानबाट टसमस नभएका कारण सभामुखको दौडधूप र सहमतिको प्रयासले सार्थकता पाउन सकेको छैन । यद्यपि दलहरुसँग विहीबार बिहान १० बजेसम्म सहमतिमा पुग्न सक्ने समय चाहिँ घर्किइसकेको छैन ।



सभामुखको दौडधूप खेर गयो, भिडन्तको मनस्थितिमा प्रमुख दल
Advertisements:

0 comments:

Post a Comment

Recent Posts